काठमाडौं, २८ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् । उनले संसद् हुँदाहुँदै किन र के कारणले अध्यादेश ल्याउनु परेको हो ? भनेर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले अध्यादेशको विरोध गरेका हुन् ।
उनले लेखेका छन्–‘हामीले लामो संघर्ष गरी प्राप्त गरेको संसदीय व्यवस्था विधिको शासन ,पारदर्शिता र सुशासनका लागि थियो। त्यसकारण हामीले संसदको कल्पना गरी जनताका जनताप्रतिनिधिबाट मुलुक चलाउने व्यवस्थालाई हामीले पालन गरेका हौ । सांसद ,संसद जिवित हुँदाहुँदै के कति कारणले अध्यादेशको आवश्यक्ता पर्यो ?’
आजमात्रै कांग्रेसका अर्का प्रभावशाली नेता एनपी साउदले पनि अध्यादेश ल्याउने सरकारको निर्णयको आलोचना गरेका थिए । विस्तारै कांग्रेसभित्रैबाट अध्यादेशको विरोध सुुरु हुन थालेको छ ।