काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले एक/दुई दिनभित्रै सदन बोलाउन प्रक्रिया थाल्ने बताएका छन् । उनले सिन्धुपाल्चोकमा आयोजित नगरसभा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारले सदन बोलाउन नचाहेको प्रसंग निकाल्दै आफूहरुले अब तत्काल विशेष अधिवेशन बोलाउने उद्घोष गरेका हुन् ।
उनले भने,‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् । सबै विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, सदन बोलाएन भने, संविधानमा व्यवस्था छ, २५ प्रतिशतले सदन बोलाउन पाइन्छ । अब हामी बोलाएनन् भने भोलि पर्सि नै सदन बोलाउनेछौं ।’
सापकोटाले सदनमा माओवादी आगो भएर प्रस्तुत हुनेपनि खुलाए । उनले थपे,‘हामीले सदन बोलाएपछि पहिलो दिन नै त्यहाँ आगो बल्नेछ । हाम्रो ३२ जनाले हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, लगायत सातवटै प्रदेशमा आगो बल्नेछ ।’