कोलम्बो, ६ माघ । श्रीलङ्काको दक्षिणी प्रान्तमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाभन्दा बढी लाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छ जना गम्भीर घाइते भएका छन् र उनीहरुको मातरा जिल्लाको एक सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा पानी परिरहेको थियो ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि दुर्घटना हुनुको खास कारण खुल्ने प्रहरीले बताएको छ ।
श्रीलङ्कामा सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएका छन् ।
श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ। रासस