Logo

आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण



टक्सार (भोजपुर), ७ माघ । ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।

भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिए । वडाध्यक्ष प्रधानले भने, “आत्मनिर्भर वडाको परिकल्पना र मर्मअनुरुप प्रशिक्षणले सार्थकता दिनेछ ।”

आधारभूत तहको एक सय ६० घण्टाको सामुदायिक कृषि सहायक सीपमूलक प्रशिक्षण सुरु गरिएको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताए। उनले भने, “आमा समूहमा आबद्ध सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण थालिएको हो, यसले समूह सदस्यहरुको क्षमता अभिवृद्धिमा मद्दत पुग्छ ।”

प्रशिक्षणमा २० जना आमाहरुको सहभागिता रहेको छ । २८ दिनसम्म प्रशिक्षण सञ्चालन हुने शिक्षालयका कृषि कार्यक्रम संयोजक तथा प्रशिक्षक प्रमोद राईले जानकारी दिए । पञ्चकन्या स्वास्थ्य आमा समूह अध्यक्ष भगवती श्रेष्ठले समूहमा आबद्ध सदस्यहरुका लागि प्रशिक्षण प्रभावकारी हुने र यसले आगामी दिनमा सक्रिय बन्न प्रेरणा दिने बताए । रासस



प्रतिक्रिया दिनुहोस्