Logo

सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण



म्याग्दी, ७ माघ । यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।

बेनी नगरपालिका–९ का पूर्ववडाध्यक्ष बेलबहादुर चोखालले सरकारी निकाय र समुदायस्तरबाट सहयोग जुटाएर भवन निर्माण र अक्षयकोष स्थापना गरिएको बताए । “विसं २०७६ मा समुदायस्तरबाट सङ्कलित दुई लाख ६० हजारबाट भवन निर्माण थालिएको थियो,” उनले भने, “भवन निर्माणलाई पूर्णता दिन जिल्ला समन्वय समितिले पाँच लाख, गलेश्वर मन्दिरबाट एक लाख र सातवटा सामुदायिक वन उपभोक्ता समूहले ५७ हजार सहयोग गरेका छन् ।”

गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको भेटी र सामुदायिक वन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बिक्रीबाट भएको आम्दानी भवन निर्माणमा सहयोग गरेको चोखालले बताए ।

वडाध्यक्ष चक्र केसीले समुदायस्तरबाट सङ्कलित १५ लाखको विपद् कोष स्थापना भएको र सोको परिचालनका लागि विधान बनाएर संस्था दर्ता प्रक्रियामा रहेको बताए । वडाअध्यक्षको संयोजकत्वमा विपद् कोष बनाइएको छ । यसअघि एकतले तीनकोठे पुुरानो भवनमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

साँघुरो भवनमा सेवा प्रवाहमा समस्या भएपछि पहिलो तलामा दुईवटा पक्की कोठा बनाइएको हो । भवनको आइतबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा भवन निर्माण र वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्