काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले राष्ट्रिय हितलाई सर्वाधिक महत्व दिएको बताएका छन् । उनले भने,‘राष्ट्रिय हित भनेपछि यसले थुप्रै कुरालाई समेट्छ । हामी यसलाई सर्वोपरि राख्छौं । तर, राष्ट्रिय हित भन्दैमा हामी जसो गर्दा राष्ट्रलाई फाईदा हुन्छ भन्नेतर्फ होईन । बरु, न्यायोचित र अन्तर्राष्ट्रिय दायित्वसँग जोडिएको राष्ट्रिय हित हेरिन्छ । यस कुरालाई हामीले ध्यानमा राख्नुपर्छ ।’ नेकपा (एमाले) का परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिबारे सांसद सम्वाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल तटस्थ परराष्ट्र नीतिमा अडिग रहेको सुनाए । उनले आफूहरुले सन्तुलित र सकारात्मक हिसाबले आर्थिक कुटनीति अपनाईरहेको पनि जानकारी गराए । उनले भूराजनीतिको कुरा गर्दा राष्ट्रिय हितमा अडान नलिने तर भूराजनीतिको कुरामात्रै गर्न नहुने धारणा राखे । उनले भने,‘भूराजनीतिले हामीलाई सावधान बनाउँछ । यसले हामीलाई सावधानीसाथ व्यवहार गर्न र कदम चाल्न सिकाउँछ ।’
उनले नेपाल सानो देश भनेर हिनतावोध कतै पाल्न नहुनेपनि सुझाव दिए । उनले नेपालभन्दा १५४ वटा देशहरु सानो रहेको तथ्यांक पेश गरे । सो क्रममा प्रधानमन्त्री ओलीले भारत र चीनजस्ता नेपालका छिमेकी मित्रराष्ट्रहरुसँग खुला खुलस्त ढंगले कुरा राख्नुपर्ने बताए । उनले डिप्लोमेसी भनेको आज भनेको कुरा आजै र भन्दाभन्दै भनेको कुरा बुझ्ने खालको हुनुपर्ने र आजको गरेको कुरा भोलि बुझिनेछ भन्ने नहुने टिप्पणी गरे । उनले डिप्लोमेसी भनेको जिब्रो लट्पटाउने र नबुझिने भाषा बोलेर समय सिध्याउने विषय नभएको भन्दै यसको गाम्भीर्यता सुनाए ।
उनले नेपालले आफ्नो दुवै छिमेकीहरु भारत र चीनसँगको सम्बन्धबारे प्रकाश पार्दै भने–‘विदेश सम्बन्ध भनेपछि छिमेक सम्बन्धबाट सुरु हुन्छ । हाम्रो दुई वटा छिमेकीहरु राम्ररी कुरा नगरेर र विभिन्न खालका खेलहरु आन्तरिक रुपमा खेलिएर नै अलिक जटिलजस्तो बनेका हुन् । हाम्रो सम्बन्धहरु त्यस्तो जटिल छैनन् । तर, यहाँ आन्तरिक रुपमै सत्ता स्वार्थका लागि वा विभिन्न स्वार्थको लागि खेल्ने खालका प्रवृत्ति र राष्ट्रिय हितभन्दा ठूलो कुरा अरु स–साना खुद्रा मसिना कुरालाई बनाईदिने कुरा र तरिकाले गर्दा ती अलिक जटिल बनेका हुन् । जटिलताजस्ता देखिएका हुन् । त्यसकारण हामीले सरलताका साथ यी पक्षलाई अगाडि बढाउन आवश्यक छ ।