काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि निर्वाचन हुने निश्चित भएको छ । आज (मंगलबार) पार्टी अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अखिलको अध्यक्ष दाबेदार नेताहरुलाई खुमलटार बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डसँगको छलफलमा अखिलको अध्यक्षका दाबेदारहरुले आ–आफ्नो अडान नछाडेपछि निर्वाचन हुने निश्चित भएको हो ।
अहिले अनलाइनमार्फत उम्मेदवारी चलिरहेको छ । अहिलेसम्म अध्यक्ष र महासचिवमा कसैले पनि उम्मेदवारी दिएका छैनन् । ओभर लोडका कारण सर्भर डाउन भएपछि साँझ ६ बजेसम्म तोकिएको उम्मेदवारी दर्ता प्रक्रियाका समयावधि ३ घण्टा थपिएको छ ।
अध्यक्ष प्रचण्डले विराज थापा, सुदिन पौडेल, उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राईलगायतका विद्यार्थी नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी सर्वसम्मत नेतृत्व चयनका प्रयास गरेपनि अन्ततः असफल भएको बताइएको छ । नेतृत्व चयनका लागि आगामी माघ १२ गते शनिबार निर्वाचनको मिति तय भएको छ । File Photo/RN