काठमाडौं, ८ माघ । कवाड व्यवसायी समाज नेपालले सरकारको प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा व्यापार व्यवसाय गर्दापनि आफूहरुलाई काठमाडौं महानगरपालिकाले दुःख दिइएको बताएको छ । आज (मंगलबार) जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले कवाड व्यवसायीहरुलाई महानगरले विगत एक वर्षदेखि अत्याचार गरिरहेको बताएका हुन् । महानगरले व्यवसाय स्थलमा तोडफोड र समान जफत गरेको उनीहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
कवाड व्यवसायबाट एक लाख मानिस प्रत्यक्ष रोजगारी पाएको उनीहरुको दाबी छ । मा रहेका देशमा संञ्चालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ आपूर्ति गर्दै आइरहेको र व्यापार घाटा कम गर्न भूमिका खेलिरहेको कवाड व्यवसायमाथि महानगरले अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको भनाइ छ ।
‘महानगरपालिकाले विगत एक वर्ष देखी कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई कुटपीट, गाली गलौज तथा अभद्र व्यवहार गरेको छ । त्यसकारण प्रचलित कानुन बमोजिम दर्ता भई आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायी माथी भईरहेका यस्ता खालका अराजक गतिविधि रोक लगाई हामी कवाड व्यवसायीको जिउ धनको सुरक्षाको माग गर्दै स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हकको लागी माननीयज्यू समक्ष अनुरोध गर्न चाहन्छौं,’– उनीहरुले ज्ञापन पत्रमा भनेका छन् ।