काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूलाई सिध्याउन सबै मिलेको हो भने आफूले यसमा गर्व गर्ने टिप्पणी गरेका छन् । उनले आफूले राष्ट्रिय राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संकटको बेलामा साथ दिएको स्मरण गराए ।
हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘प्रचण्डजीलाई मैले परेको बेलामा आपतविपतको बेलादेखि संकटपूर्ण घडीमा साथ दिएको हुँ । राजनीतिमा मेरो दुश्मनी कोहीपनि छैन् । मैले कसैलाई पनि दुश्मन मान्दिनँ । प्रचण्डजीले जोसँग संगत गरे, तिनैलाई विश्वासघात गरे । अब बैद्यजीहरुलाई त्यही हाल भयो, माधवजीलाई पनि विश्वासघात नै गर्नुभयो उहाँले, शेरबहादुरलाई पनि धोका नै दिनुभयो, केपी ओलीलाई पनि धोका दिनुभयो, हामीलाई त पिठ्युँमा छुरा रोप्ने काम गर्नुभयो । उहाँलाई साथ दिनेहरुले जहिल्यैपनि धोका नै पाउने हो । त्यसबाट उहाँले के पाउनुभयो त्यो उहाँले थाहा पाउने कुरा हो ।’
अहिले प्रचण्डको भूमिकाको कारण माओवादीलाई नै जनताले अविश्वनीय नेतृत्व भएको पार्टीको रुपमा चिन्न थालेको यादवको भनाई छ । उनले प्रचण्डले नै आफनो पार्टी फुटाईदिएको दाबी गरे । त्यो कुरा स्वयम प्रचण्डले नै सिन्धुलीमा भाषण गर्दा गौरव गरेर जसपा, नेपाल फुटाएको भनेर भाषण गरेको पनि यादवले स्मरण गराए ।