तेल अभिव, १० माघ । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुनर्नामकरण गर्ने घोषणा गरेका छन् ।
“ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो”, मेयर गाइ यिफ्राचले भने, “हामी ट्रम्पलाई विश्वास गर्छौं र उहाँले आगामी महिनामा यस क्षेत्रमा निर्माण कार्यलाई बढाउनु हुने विश्वास छ ।”
पहिले ई–१ वा मेभासेरेट अदुमिम भनेर चिनिने माले अदुमिमको नगरपालिका सीमाभित्र पर्दछ र क्षेत्र सी अन्तर्गत छ । त्यहाँ इजरायलसँग प्रशासनिक र सुरक्षा अधिकार छ ।
आवास सङ्कटलाई कम गर्न तीन हजार घरका लागि बनाइएका योजनाहरू बाइडन प्रशासन लगायत अन्तर्राष्ट्रिय विरोधद्वारा अवरुद्ध भएका छन् ।
मेयर यिफ्राचले टी–१ लाई ‘रणनीतिक सम्पत्ति’ का रूपमा वर्णन गरे र इजरायली नेताहरूलाई माले अदुमिम र जेरुसलेम बीच भौगोलिक निरन्तरता स्थापित गर्न आह्वान गरे ।
इजरायली–प्यालेस्टिनी सम्झौताअनुसार इजरायलले क्षेत्र सी वर्गीकृत क्षेत्रमा पूर्ण प्रशासनिक र सुरक्षा नियन्त्रण राख्दछ ।
ट्रम्पको नाममा पहिले पनि गोलन समुदाय राखिएको थियो । ट्रम्पले गोलन हाइट्समा इजरायली सार्वभौमिकता स्वीकार गरेपछि इजरायलले नयाँ समुदायको नाम रामत ट्रम्प राखेर राष्ट्रपतिलाई सम्मान गरेको थियो ।
इजरायली नेताहरूले बाइडन प्रशासनद्वारा लगाइएका प्रतिबन्धहरू फिर्ता गर्ने कार्यादेशहरूको प्रशंसा गरेका छन् । तिनमा प्यालेस्टिनी विरुद्ध हिंसाको आरोपमा जुडिया र सामरियाका बासिन्दाहरूमाथिका प्रतिबन्धहरू, संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी युएनआरडब्लुए लाई कोष बन्द गर्ने र अन्तर्राष्ट्रिय अपराध अदालतका पदाधिकारीहरूमाथि पुनः प्रतिबन्ध लगाउने समावेश छन् । रासस