Logo

एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न बलियो प्रतिबद्धता



काठमाडौं, ११ माघ । सभामुख देवराज घिमिरेले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताएका छन्।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा उनले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताए ।

“चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ”, उनले भने, “हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।”

सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताए। चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उनले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुसी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।

सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको उल्लेख गर्दै सभामुख घिमिरेले पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताए। “हामीबीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनिभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ”, उनले भने ।

नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उनले एकापसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत हामीले द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेको उल्लेख गरे। रासस



प्रतिक्रिया दिनुहोस्