काठमाडौं, ११ माघ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, आज राति कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राती सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।