काठमाडौं, १५ माघ । जनता समाजवादी पार्टीका सचिव तथा प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले सिराहाको बस्तीपुरदेखि उदयपुरको बेलसोत जोड्ने सडक निर्माणको शिलान्यास गरेका छन् ।
आज (मंगलबार) बस्तीपुरमा एक कार्यक्रमको आयोजना गरी उक्त सडक खण्ड निर्माणको लागि महतोले शिलान्यास गरेका हुन् । सो अवसरमा स्थानीय नेताहरु रामअवतार राई, मनोज राई, अञ्जनी राई, जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
सो सडक खण्डन निर्माणको लागि पूर्वमन्त्री महतोले नै आफ्नो पहलमा बजेट विनियोजन गरेको जसपाका नेता अञ्जनी राईले जानकारी दिए । शिलान्यास कार्यक्रममा सडक डिभिजन कार्यालय लहानका इन्जिनियर र ठेकेदार कम्पनीका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
बस्तीपुर कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा पर्छ भने उता बेलसोत कटारी नगरपालिका वडा नम्बर १ मा पर्छ । यो सडकखण्ड निर्माण सम्पन्न हुँदा उदयपुर, धनुषा र सिन्धुलीका जनताले समेत लाभ लिनेछन् ।