Logo

बाजुरका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम



बाजुरा, १७ माघ । जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम सञ्चालन गरेको छ ।

तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताए ।

उनले रैथाने सीपको सदुपयोग गर्दै पालिकामा बेरोजगार रहेका युवा र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी तालिम सञ्चालन गरिएको बताए । विद्यार्थीलाई सीप सिकाउने र व्यावसायिक बनाउन तालिम आयोजना गरिएको उनको कथन थियो ।

पालिका उपप्रमुख नन्दाकुमारी थापाले सिकेको सीप अध्ययन पूरा भएपछि व्यवहारमा उतार्न तथा आर्थिक रुपमा आत्मनिर्भर हुन तालिमेहरुलाई आग्रह गरिन् ।

बडीमालिका नगरपालिकाको आयोजना, मालिका मावि र नेपाल भोटे जनजाति महासङ्घ बाजुराको समन्वय तथा आइ ल्याब काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १२ जना सहभागी छन् । रासस



प्रतिक्रिया दिनुहोस्