Logo

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी



सोलुखुम्बु, चैत १ । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।

जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाको भनाइ छ ।

उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् ।

ओपिडीका बिरामीलाई पनि अक्सिजन

अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । “अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, डा रामबाबु जोशीले भने ।

भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताए। स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ ।

दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।

भवन सुविधासम्पन्न, जनशक्ति अभाव

साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ ।

विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्