
काठमाडौं, १ चैत्र । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आज (शुक्रबार) आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पारे । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले सरकारलाई बदनाम गर्नेगरि हल्ला गरिएको उनको भनाई छ । ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको उनको भनाई छ ।
अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको मन्त्री सिंहको स्पष्टोक्ति छ । अहिले सरकारको विरुद्धमा विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा उनको जोड थियो । उनले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराए ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकारप्राप्त भएको भन्दै कसैले किस्तिमा राखेर नदिएको बताए । अहिले प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताए ।