Logo

माथिल्लो ठूलोखोला ‘ए’ आयोजनाको निर्माण अन्तिम चरणमा



म्याग्दी, ५ चैत । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव पाँच मेगावाट क्षमताको यस आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।

आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युत्गृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ ।

आयोजनाको पूर्वाधारतर्फको ठेकेदार कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक दुई सय जना जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाको लागि आबश्यक पर्ने मेसिन उपकरण ढुवानीको काम धमाधम भइरहेको र विद्युत्गृहमा विद्युतीय मेसिन, उपकरण र सामग्रीको जडान गर्ने काम भइरहेको वित्त प्रमुख खतिवडाले बताए।

सुरुङरहित यस आयोजनामा कुल दुई हजार आठ सय मिटर पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । सुगुरथलामाथि रघुगङ्गा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए । उनका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ ।

रु तीन अर्ब लागत अनुमान गरिएको यस आयोजनामा प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छभने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ«े बैँकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ । आयोजनाको इलेक्टोमेकालिकतर्फको ठेक्का लिएको भारतीय बिएफएल कम्पनीले समेत मेसिन उपकरण जडान गर्ने काम गरिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्