
काठमाडौं, चैत ५ । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् ।
टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।
इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गरे । नगरप्रमुख थापाले एक सय ५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेती सुरुआत भएको उल्लेख गर्दै हाल यहाँको चियाले नेपालको अन्तरराष्ट्रिय पहिचान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।