
काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. गोविन्द पोखरेलले अहिलेको सरकारले पुँजीगत खर्चको लक्ष्य नै घटाएको र गर्नुपर्ने खर्चसमेत गर्न नसकेको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारको प्राथमिकता सत्ता र शक्तिमात्रै भएकोले असफल भएको टिप्पणी गरे । उनले भने,‘सरकारहरु भनेको विकासको लागि हो, तर नेपालमा भने दुर्भाग्य के भयो भने राजनीति गर्नेहरुको उद्देश्य भनेको सत्ता र शक्ति प्राप्तिमात्रै देखियो ।’ उनले एमालेको लक्ष्य भनेको अहिले देशभन्दा पार्टी बलियो बनाउनेजस्तो देखिएको आरोप लगाए ।
अहिलेको सरकारबाट स्वास्थ्य र कृषि मन्त्रीको कामबाहेक अरु देखिनेगरि प्रगति नभएको उनको आरोप छ । उनले भने,‘अहिले पूर्वाधार मन्त्रालयको कुरा गर्नुहुन्छ भने मन्त्रालयको कर्तव्य के हो भन्ने कुरापनि मन्त्रालयलाई थाहा छैन् । यति धेरै आयोजना र परियोजना समयमा सम्पन्न हुन सकेका छैनन् । तिनीहरुले भोगेका समस्याको चाङ छ । सरकारले केही छिटफुट प्रयास गरेको देखिएको छ, तर जनताले अनुभूति गर्नेखालको प्रतिफल प्राप्त गर्न सकेको छैन् ।’
उनले कर्मचारी संयन्त्रपनि धेरैजसो कांग्रेस र एमालेको शुभेच्छुकहरु भएको र अन्य निकायमा पनि दुई दलको नै बढि प्रभाव रहेको अवस्थामा पनि सरकारले प्रतिफल निकाल्न नसक्नु बिडम्बना भएको बताए ।