Logo

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्नुभएको आचार्यले जानकारी दिनुभयो ।

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्