Logo

यस्तो छ प्रचण्डले आज जनताको नाममा सम्बोधन नगर्नुको कारण



काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने भनिएपनि उनले आज सम्बोधन नगर्ने निर्णय गरेका छन् । बुधबार साँझसम्म पनि उनले आज साँझ ५ बजे जनताको नाममा सम्बोधन गर्ने सम्पूर्ण तयारी गरिसकेका थिए ।

प्रधानमन्त्री दाहालले त्यसको लागि पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गरेका थिए । तर, आज सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको संक्षिप्त कुराकानीपछि उनी एकाएक आज गर्ने भनिएको सम्बोधन स्थगित् गरेर आउने ८ गते गर्नेमा पुगेका छन् ।

प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार प्रधानमन्त्री दाहालले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको सुनिश्चितता नभएसम्म पदबाट समेत राजिनामा तत्काल नदिने भएका छन् ।

मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने भन्दै उनले त्यसको लागि संसदमा दर्ता भएको परिमार्जनसहितको संशोधन प्रस्तावलाई पारित गराउनको लागि पहल गर्नुपर्ने भएकोले केही दिन समय लिने बुझिएको छ ।

उता काँग्रेससँग भएको भद्र सहमति अनुसार नै पहिलो चरणको निर्वाचन सम्पन्न भएकोले प्रधानमन्त्री दाहालले तत्काल राजिनामा दिनुपर्ने हो । काँग्रेसका शीर्ष नेताहरुले नै प्रधानमन्त्री दाहालले आजभोलि नै राजिनामा दिने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्