Logo

दोस्रो चरणको निर्वाचनपनि प्रचण्डकै नेतृत्वमा हुने, देउवा अब असारमा मात्रै प्रधानमन्त्री बन्ने



काठमाडौं, ८ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिने भएका छन् ।

सत्तारुढ गठबन्धन दल कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीचको पछिल्लो सहमति अनुसार प्रधानमन्त्री दाहालले नै दोस्रो चरणको निर्वाचन गर्नेछन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै अब प्रधानमन्त्रीले राजिनामा दिने र कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने अड्कलबाजीहरु गरिएको थियो ।

तर, कांग्रेस शीर्ष नेताहरुले नै अहिले नयाँ सरकार गठनको प्रक्रियामा लाग्दा समय घर्किने, र निर्वाचनलाई र स्वयम् पार्टीलाई पनि ठूलो असर पुग्ने निश्कर्ष निकाल्दै यही सरकारले जेठ ३१ गतेको निर्वाचन गराउनुपर्ने दबाब पार्टी सभापति देउवालाई दिएका छन् । सभापति देउवापनि यो विषयमा करिब करिब सहमत भैसकेका छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,“अहिले नयाँ सरकार गठन गर्नुभन्दापनि यही सरकारले निर्वाचन गराओस् भन्ने पक्षमा हामी छौं, निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ, अनि हाम्रा पार्टी सभापति शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ, यसमा कुनै शंकै छैन् ।”

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले असारको पहिलो हप्तामात्रै सरकार छोड्ने बुझिएको छ । प्रधानमन्त्री दाहाल आफ्नै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गराउनेगरि तयारीमा जुटिसकेका छन् । त्यसो हुँदा जेठ ११ गते नीति तथा कार्यक्रम ल्याउने र जेठ १५ गते कामचलाउ बजेट ल्याउने प्रधानमन्त्रीको तयारी छ । हिजोमात्रै बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसामू प्रस्तुत गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्