Logo

चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइयो



इनरुवा, जेठ ११ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।

आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रजिअ पराजुलीकाअनुसार चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारबाट त्यहाँ नेपाली सेना खटाइएको हो ।

निर्वाचनको विषयमा राजनीतिक दलसँग छलफल

यसैगरी, दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनको तयारीका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा निर्वाचनको विषयमा थालेको तयारी, चुनावी वातावरण, जिल्लाको सुरक्षा अवस्था लगायतका बारेमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालले निर्वाचनका तयारीका बिषयमा उनीहरुलाई जानकारी गराए ।

बैठकमा सहभागी दलका नेताले मतदाता शिक्षाको प्रभावकारिता, भरपर्दो सुरक्षा बन्दोबस्ती र सहज वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै बदर मतको सङ्ख्या न्यून तुल्याउन मतदाता शिक्षाको प्रभावकारिताको खाँचो रहेको उल्लेख गरे । (रासस)

 



प्रतिक्रिया दिनुहोस्