Logo

गोदावरी नगरपालिकाका १०० भूकम्पपीडितका लागि एकीकृत बस्ती



काठमाडौँ, १३ जेठ । ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ स्थित काफलडाँडा र लामिडाँडामा १०० घरका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्प र पटक पटकको परकम्पले क्षति हुन पुगेका यहाँका घर पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी टहरामा बस्न बाध्य थिए । बतास फाउन्डेसन, एसटेन एबल कन्स्ट्रक्सन प्रालि र ओमान च्यारिटेबल अर्गनाइजेसनको साझेदारीमा एकीकृत बस्ती निर्माण हुन लागेको हो । बस्ती तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले शुक्रबार एकीकृत बस्तीको शिलान्यास गर्नुभयो । सो अवसरमा राज्यमन्त्री खड्काले भूकम्पपीडितका लागि सबै किसिमका पूर्वाधार पुग्नेस्थलमा एकीकृत बस्ती निर्माण गरिनु उदाहरणीय काम भएको बताउनुभयो ।

कार्यक्रममा सांसद उदयशमशेर राणा, गोदावरी नगरपालिकाका नवनिर्वाचित प्रमुख गजेन्द्र मर्हजन लगायतले भूकम्पपीडितका लागि स्थायी आवास पुनःर्निर्माणमा पहिलो प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो ।

स्थानीयवासी रामप्रसाद सापकोटाले भूकम्पको दुई वर्ष बित्दासमेत आवास पुनःनिर्माण गर्न नसकेकामा सहयोगी संस्थाले पुन्यको काम गरेको बताउनुभयो ।

फाउन्डेसनले यसअघि रसुवा जिल्लाको नौकुन्ड गाउँपालिकामा १५१ भूकम्पपीडित परिवारका लागि एकीकृत बस्ती निर्माण सम्पन्न गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्