Logo

भाँड्ने, साँड्ने थाहा छैन, तर मधेशी जनताले चुनाव हुन दिँदैनन् : राजेन्द्र महतो



काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि हालतमा दोस्रो चरणको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । उनले भने,‘हामीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छौं, अब हामी आन्दोलनबाट ब्याक हुँदैनौं, हामी निर्वाचन विथोल्छौ, जनताले चुनाव हुनपनि दिँदैनन् ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतोले जेठ ३१ गते अघि नै संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने, जनसंख्याको आधारमा गाउँपालिका र नगरपालिकाको संख्या थप्नुपर्ने र तराई÷मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई लगाईएका मुद्दा फिर्ता लिनुपर्ने माँग गरे । उनले भने,‘यी माँगहरु पुरा गर्नुपर्छ, यदि यी माँगहरु पूरा भएनन् भने हामी निर्वाचनमा जाँदैनौं, स्वयम् मधेशी जनताले नै निर्वाचन विथोल्छन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतोले आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे। उनले भने,‘पहिलो चरणको निर्वाचनमा हामी सहभागी हुने अवस्था थिएन्, त्यही भएर सरकारले एक महिनाभित्रै संविधान संशोधन गर्छु भनेर कबुल गरेकै हो नि, दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको लागि तोकियो, तर यो एक महिनामा केही काम भएन्।’ उनले सत्तारुढ दलले सहमतिको लागि समय चाहिएको भन्दै एक महिनाको अन्तरमा चुनाव राखेपछि यो बीचमा सरकारले केहीपनि काम गर्न नसकेको गुनासो पोखे ।

नेता महतोले सरकारको गलत नियतको कारणले गर्दा बाध्य भएर आफूहरुले आन्दोलन घोषणा गर्नुपरेको स्पष्ट पारे । उनले प्रमुख तीन दल मिलेर नै संविधान जारी गरेकोले अब तीन दल मिलेर नै संविधान संशोधन गर्नुपर्ने सुझाए ।

उनले भने,‘तीन दल मिलेर गलत संविधान जारी गरेका हुन्, यो गलत छ भनेर उहाँहरुले नै भनिसक्नुभएको छ, अब उहाँहरु तीन दल मिलेर सच्याउनुपर्छ।’ उनले सहमतिका आधारमा नभई गणितका आधारमा बलजफ्ती संविधान जारी भएको कारण आज यो अवस्था आएको समेत जिकिर गरे ।

महतोले निर्वाचन अघि नै संविधान संशोधन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई के को आपत्ति भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘हिजो गर्न सक्नेले आज किन गर्न सक्दैन् ? अनि भोलि गर्छु भन्नेले आजै किन गर्न सक्दैन्, त्यसैले निर्वाचन अघि नै संशोधन गर्नुपर्छ, हामीले पटक पटक यही भनेका छौं, हाम्रा माँगहरु पूरा हुनुपर्यो।’

उनले एमालेपनि संविधान संशोधनमा आउनुपर्ने बताए । ‘एमालेले निकास दिन खोजेको हो भने’ महतोले भने,‘एमालेपनि सहमतिमा आउनुपर्यो नि, त्यो भन्दापनि जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्नुपर्छ।’

त्यस्तै नेता महतोले सरकारले यसअघि बढाएको स्थानीय तहको संख्या र हालै बढाएको संख्या दुवै गलत भएको समेत आरोप लगाए । उनले भने,‘पहिलापनि सरकारले ७१९ बाट बढाएर ७४४ संख्या पुर्याएको हो, अहिलेपनि जो २२ संख्या बढाएको छ, यो पनि गलत छ, किनकी संख्या त्यतिकै हचुवाको आधारमा बढाईएको छ।’ उनले गाउपालिका तथा नगरपालिकाको संख्या बढाउँदा जनसंख्याको आधारमा बढाउनुपर्ने बताए ।

यद्धपी महतोले सर्वोच्च अदालतले हालै सरकारले बढाएको स्थानीय तहको संख्या बदर गर्न दिएको अन्तरिम आदेश आश्चर्यजनक भएको टिप्पणी गरे । उनले भने,‘पहिले संख्या थप्दा अदालतले सदर गर्यो, अहिले यही सरकारले फेरि संख्या थप्दा अदालतले बदर गरेको छ, सर्वोच्च अदालत के गर्न खोजेको हो ? बुझ्नै गाहा«े भयो।’

त्यस्तै उनले आफूहरुलाई नयाँ चुनाव चिन्ह पनि दिनुपर्ने बताए । महतोले भने,‘चुनाव चिन्ह त हामीसँगपनि छ, हामीसँग त ६ वटा छ, तर हामी ६ पार्टी एकता भएपछि हामीलाई नयाँ चुनाव चिन्ह चाहिएको हो नि।’

उनले मधेशमा सेना लगाएर निर्वाचन गर्ने सपना नदेख्न समेत सबैलाई आग्रह गरे । उनले भने,‘सेना लगाएर निर्वाचन गरेर मुलुकलाई धेरै ठूलो नोक्सान पुर्याउँछ।’ नेता महतोले आफूहरु चुनाव छोड्न सक्ने तर आफ्ना एजेण्डा छोड्न नसक्ने बताए । उपेन्द्र यादवले मुद्दा छोडेको समेत उनले आरोप लगाए । महतोले भने,‘जनताले सबै कुरा हेरिरहेका छन्, उहाँले धोका दिनुभयो, धोका दिने काम बन्द गरौं भनेर म अहिलेपनि भन्छु, सहिदको रगतलाई अपमान नगरौं।’

महतोले पटक–पटक दोहोर्याएर भने,‘तराई मधेशका जनताले आफ्ना माँग पूरा नभएसम्म कुनैपनि निर्वाचन हुन दिँदैनन्, भाँड्ने साँड्ने मलाई थाहा छैन, तर जनताले चुनाव हुन दिँदैनन् ।’ उनले मधेशमा सेना लगाएर, गोली चलाएर चुनाव गर्नतिर लागे यसले मुलुकलाई ठूलो नोक्सान पुर्याउने बताउँदै भने,‘सेना ब्यारेकमा बस्ने हो।’

त्यस्तै महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुको कुनै समर्थन नहरने समेत स्पष्ट पारे । उनले भने,‘के को समर्थन ? माँग पूरा नगर्नेलाई समर्थन गर्न सकिँदैन्, हामी समर्थन गर्दैर्नौ, तर माँग पूरा गर्नेहरुलाई हाम्रो जहिलेपनि समर्थन रहन्छ नि।’



प्रतिक्रिया दिनुहोस्