Logo

बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास



काठमाडौँ, १४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएको छ ।

बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थामा देखाएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै सांसद गिरीले संविधान संशोधनका लागि प्रतिपक्षीलाई समेत विश्वासमा लिएर जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रजातन्त्रमा सबैलाई समेट्न सके मात्र व्यवस्था दिगो हुने उल्लेख गर्दै उहाँले मधेस समस्या समाधानका लागि नीति कार्यक्रममा संविधानको दायरा झन् फराकिलो गर्ने कुरा सकारात्मक छ भन्नुभयो ।

नेकपा (एमाले) का रेवतीरमण भण्डारीले नीति तथा कार्यक्रमले चालु आवका कार्यक्रमलाई नै निरन्तरता दिएको उल्लेख गर्र्दै यसले वर्तमान अवस्थामा मुलुकमा सबैलाई एक ढिक्का बनाएको र कोही पनि पक्ष विपक्ष नभएको बताउनुभयो ।

सरकारले विद्युत्भार कटौती अन्त्य र आर्थिक वृद्धिमा प्राप्त गरेको सफलता सकारात्मक भएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रममा जनतामा विश्वास जगाउने कुरा आएको बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)की रेखा शर्माले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँनगरसम्म पु¥याउने कार्य प्रशंसायोग्य भएको उल्लेख गर्दै आर्थिक वृद्धिदर र उज्यालो नेपाल स्वागतयोग्य रहेको बताउनुभयो ।
राप्रपाका परशुराम तामाङले नीति कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ समेट्नु स्वागतयोग्य हो भन्दै बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपालीले कृषिको आधुनिकीकरण तथा सबै प्रदेशमा मुटु अस्पताल बनाउने लगायत जनहितकारी योजना नीति कार्यक्रममा समेटिनुपर्ने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्