Logo

पार्टीका कमीकमजोरी सच्याउन सभापति देउवासँग माग



 

काठमाडौँ, १९ जेठ । बिपी विचार राष्ट्रिय समाजले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले गरेका कमीकमजोरी अबका निर्वाचनमा सच्याउन माग गरेको छ ।

समाजका सभापति सांसद कुलबहादुर गुरुङको नेतृत्वमा आज बिहान गएको प्रतिनिधिमण्डलले सभापति शेरबहादुर देउवालाई भेटी पार्टी सङ्गठन र राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल गरी सुझाव दिने क्रममा यस्तो माग गरेको हो ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा काँग्रेस सहभागी भएको सरकारले गरेका कतिपय निर्णयले पार्टीको लोकप्रियतामा पारेको नकारात्मक प्रभाव र पहिलो चरणको निर्वाचनमा पार्टीले प्रतिबद्ध एवम् लोकप्रिय व्यक्तिलाई टिकट नदिँदा स्थानीय तहको निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न नसकेकोतर्फ सभापति देउवाको ध्यानाकर्षण गराइएको समाजका महासचिव विनयध्वज चन्दले बताउनुभयो ।

“दोस्रो चरणको स्थानीय तह, प्रदेश र संसद्को निर्वाचनमा उम्मेदवार तय गर्दा पहिलो चरणको निर्वाचनमा भएको कमजोरीलाई नदोहो¥याई निश्चित विधि र प्रक्रिया निर्धारण गरेर लोकप्रिय उम्मेदवार तय गर्न माग गरेका छौँ”–उहाँले भन्नुभयो ।

पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाका कारण जनतामा पर्न गएको निराशालाई चिर्र्दै सरकारको नेतृत्व गर्दा स्पष्ट र लोकप्रिय राजनीतिक अडानका साथ प्रस्तुत हुनुपर्ने समाजको माग छ । पार्टीलाई थप वैचारिक स्पष्टता र नवीन कार्यक्रमका साथ परिचालित गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिमण्डलले सुझाव प्रस्तुत गरेको महासचिव चन्दले बताउनुभयो ।

प्रतिनिधिमण्डलको सुझावको प्रत्युत्तरमा सभापति देउवाले पहिलो चरणको निर्वाचनमा देखिएका कमी कमजोरीलाई हटाई पार्टीलाई थप गतिशील बनाउने र काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने वचनबद्धता प्रकट गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा समाजका सहअध्यक्ष गोविन्दराज जोशी, महासचिव चन्द, सहसचिव रामबहादुर गुरुङ, संस्थापक सदस्यद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकाल सहभागी हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्