Logo

समृद्धि सम्भव छ भन्ने स्थापित ग¥यौँ : ऊर्जामन्त्री शर्मा



काठमाडौँ, २१ जेठ । ऊर्जा मन्त्रालयले पछिल्लो दस महिनामा विद्युत्भार कटौतीको अन्त्य, महत्वपूर्ण जलविद्युत् आयोजनाको सुरुवातलगायत महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

ऊर्जा मन्त्रालयमा आज आयोजित ‘धन्यवाद कार्यक्रम’लाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले तीव्र इच्छाशक्ति, प्रयास, योजनाबद्ध खटाइबाट उपलब्धि प्राप्त हुँदोरैछ भन्ने स्थापित भएको र मुलुकमा सकारात्मक सोचको विकास भएको बताउनुभयो ।

‘नेपालको पानी जनताको पानी’ एवम् ‘उज्यालो नेपाल अभियान’सहित ३७ बुँदे कार्ययोजनाका साथ मन्त्रालयले प्रभावकारी रुपमा अभियान अगाडि बढाइएको जानकारी दिनुहुँदै मन्त्री शर्माले रुपान्तरण हाम्रै पालामा सम्भव छ भन्ने पनि स्थापित गरिएको उल्लेख गर्नुभयो ।

आगामी सात वर्षभित्र कुल १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी जलाशय, अर्धजलाशय एवम् नदीप्रवाहमा आधारित जलविद्युत् आयोजना अगाडि बढाइएको, ऊर्जा क्षेत्रको विकासमा संस्थागत एवम् नीतिगत सुधार गरिएको र सबैभन्दा महत्वपूर्ण कामका रुपमा त विद्युत्भार कटौतीको अन्त्य गरेर मुलुकको आर्थिक समृद्धि २५ वर्षपछि ६.९४ प्रतिशतमा पु¥याएको जानकारी दिनुभयो ।

गत साउन २० गते गठन भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्युत् उत्पादन कम्पनी, बूढीगण्डकी जलविद्युत् विकास कम्पनी स्थापानको चरणमा रहेको ऊर्जामन्त्री शर्माले जानकारी दिनुभयो ।

यस्तै नलसिङ्गगाड जलविद्युत् विकास कम्पनी, जगदुल्ला जलविद्युत् आयोजना कोरियामा रहेका नेपाली समेतको लगानीमा निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले ग्रिड कम्पनी, विद्युत् चुहावट तथा नियन्त्रण कार्यदलले पछिल्लो सात महिनामा चार प्रतिशतभन्दा बढी चुहावट नियन्त्रण गर्न सफल भएको उल्लेख गर्नुभयो ।

विद्युत व्यापार इन्जिनियरिङ, माथिल्लो अरुण, दूधकोसी, तामाकोसी पाँचौँ, राहुघाट, उत्तरगङ्गा र आँधीखोला जलविद्युत् कम्पनी स्थापना भई काम सुरु भइसकेको जानकारी मन्त्री शर्माले दिनुभयो ।

यस्तै कर्मचारीको लगानीमा वेतान कर्णाली जलविद्युत् आयोजना अगाडि बढाइएको, प्रसारण लाइन निर्माणमा रहेका दर्जनौँ समस्या हल गरी निर्माणको क्रममा अगाडि बढेको तथा तिला जलविद्युत्मा कर्णाली आयोजनामा प्रत्येक घरपरिवारले एक–एक लाख सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

यस्तै विद्युत् खरिद सम्झौतालाई सरल, सहज एवम् छिटोछरितो र पारदर्शी बनाइएको जानकारी दिनुहुँदै ऊर्जामन्त्री शर्माले ‘लेउ वा देउ’ प्रावधान राखेर सम्झौता गर्ने व्यवस्था गरिएको, मूल्य अभिवृद्धि कर छुट एवम् अन्य छुट दिने बारे प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

कार्यक्रममा ऊर्जा सचिव अनुपकुमार उपाध्याय लगायतका उच्चपदस्थ कर्मचारी, जल तथा ऊर्जा आयोगका सचिव लगायतका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् वरिष्ठ कर्मचारीले जनार्दन शर्मा नेतृत्वको कार्यकालमा महत्वपूर्ण उपलब्धि भएको र कर्मचारीको मनोबल उच्च भएको भन्दै धन्यवाद दिनुभएको थियो ।

मन्त्री शर्माले देश र जनतालाई केन्द्रमा राखेर काम गरिएकाले मुलुकमा केही हुन्छ, समृद्धि हाम्रै पालामा सम्भव छ भन्ने स्थापित भएको भन्दै सबै कर्मचारीलाई धन्यवादसमेत दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्