Logo

माघ ७ गतेभित्र संघीय निर्वाचन हुन्छ, शंका नगरौ : देउवा



काठमाडौं, २३ जेठ। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बन्ने सरकारले आउने माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गराउने विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले व्यवस्थापिका संसदको आज अपरान्ह बसेको बैठमा बोल्दै सो कुरा बताउनुभएको हो । संसदको बैठकमा उहाँभन्दा पहिले बोल्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता के पी शर्मा ओलीले प्रदेश र संघीय निर्वाचनको बारेमा आशंका अभिव्यक्त गरेपछि त्यसको संबोधनमा बोल्नुभएको हो । उहाँले भन्नुभयो,“ प्रदेश र केन्द्र संघका निर्वाचन माघ ७ गतेभित्र गर्ने हो त्यसमा शंका नगरे हुन्छ ।”

प्रधानमन्त्री पदका उम्मेदवार देउवाले आफ्नो नेतृत्वमा बन्ने सरकार लोकतान्त्रिक मूल्य,मान्यता र परम्पराको पालना अनुशरण गर्दै स्वच्छ,निष्पक्ष र भयमुक्त बातावरणमा निर्वाचन गराउन निर्वाचन आयोगलाई सघाउन सदा तत्पर रहने पनि बताउनु भयो । उहाँले बाँकी चार प्रदेशमा स्थानीय निर्वाचन सबै राजनीतिक दलहरुको सहभागितमा सम्पन्न गराउनु पनि सरकारको उच्च प्राथमिकतामा पर्ने बताउनु भएको थियो ।

प्रतिपक्षी दलका नेताले भरतपुर महानगरपालिकाको निर्वाचन र मतगणनाको सम्बन्धमा उठाएको प्रश्नको जवाफ दिदै भन्नुभयो ,“ भरतपुरको सम्बन्धमा निर्णय निर्वाचन आयोगले गरेको हो । हामीले निर्वाचन आयोगको निर्णयलाई स्वीकारमात्र गरेका हौ ।”

उहाँले यसमा चित्त नबुझेर प्रतिपक्षी दल अदालत गएको प्रसंग उठाउदै भन्नुभयो,“ जे छ, अदालतको आदेशमा छ ।” उहाँले प्रस्तावमाथि छलफल हुँदा प्रधानन्याधीशको बारेमा धेरै कुरा उठेको बताउदै भन्नुभयो,“ म त्यहां जान चाहन्न । महाभियोग प्रस्ताव फिर्ता भैसक्यो।” उहाँले संसदलाई सुचारु रुपले सञ्चालन हुन दिएर देश र जनताको हितमा काम गर्न नदिन अरु दलहरु नै लागेको संकेत गर्दै भन्नुभयो,“ संसद चल्न नदिने हामी होइनौ ।”

उहाँले प्रधानमन्त्री प्रचण्डले दिनुभएको राजिनामाका बारेमा प्रतिपक्षी दलका नेताले लिनुभएको चिन्तालाई सकारात्मक रुपमा लिदै भन्नुभयो,“ यस्तै चिन्ता पछि पनि गर्दै जानु होला ।”

प्रधानमन्त्री निर्वाचित गर्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सरकारको नेतृत्व परिवर्तनको विषय सत्ता साझेदार दलहरुको सहमति अनुसार चलेको उल्लेख गर्दै भन्नुभयो,“ हाम्रो सहमति थियो, प्रधानमन्त्रीले अगाडि बढाउन चाहनुभयो ।त्यसमा धन्यवाद छ । ”

आफ्नो छोटो मन्तव्यमा पार्टी सभापति देउवाले सप्तरी घट्नाका सम्बन्धमा सत्तारुढ दलहरुमाथि लाएको दोषारोपणका बारेमा बोल्दै भन्नुभयो,“पुलिसले एमाले नेता र कार्यकतालाई नै सुरक्षा दिएको हो ।” सो अवसरमा बोल्दै सभापति देउवाले राष्ट्रियताको चर्को कुरा उठेको बताउदै भन्नुभयो,“ हाम्रो पार्टिको आदर्श नै राष्ट्रियता प्रजातन्त्र समाजवाद छ । हामीलाई पाठ सिकाउनु आवश्यकता छैन । हाम्रो पार्टी यो तीन कुरामा कसैसंग सम्झौता गर्दैन ।”



प्रतिक्रिया दिनुहोस्