![](https://reportersnepal.com/wp-content/uploads/2017/06/sher-bahadur-deuba-1-e1496748530277-768x678.jpg)
काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनको निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)सँगको समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले तोकिएको समयमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन र अन्य तहका निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आचारसंहितालाई प्रतिकूल असर नपार्ने गरी पुरानै नीति कार्यक्रम र बजेटलाई निरन्तरता दिइने धारणा व्यक्त गर्नुभयो ।
सभापति देउवाले निर्वाचनमा सबै पक्षलाई समावेश गर्ने वातावरण मिलाउने र मधेसकेन्द्रित दलको मागबमोजिम ल्याइएको संविधान संशोधन विधेयक पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पनि साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको आवश्यकता संविधानको सर्वस्वीकार्यता हो, त्यसका लागि संविधान संशोधन विधेयक पारित हुनेछ भन्ने म विश्वास दिलाउनु चाहन्छु ।”
सभापति देउवाले स्थानीय तहको निर्वाचनले ग्राँसरुट डेमेक्र्यासीलाई बल पुग्ने भएकाले जनताको प्रत्यक्ष संलग्नतामा अब विकेन्द्रीकरणलाई स्थापित गर्न र आर्थिक विकासमा लाग्न आवश्यक छ भन्दै विदेशी लगानीकर्तालाई आकर्षित गरेर उद्योगधन्दाको विकास गरी आर्थिक वृद्धिको अवस्थालाई निरन्तरता दिन, कृषि उत्पादनलाई बजारसम्म लाने वातावरण निर्माण, समावेशी प्रणाली र सङ्घीयतालाई स्थापित गर्न तथा विभेदमुक्त मूलक निर्माणका लागि राष्ट्रिय सहमतिका साथ आफ्नो नेतृत्वमा बन्ने सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली सुन्दर देश छ, यो समृद्धिको बाटोमा अघि बढ्छ, यहाँ केही अभाव छैन ।”
समझदारीबमोजिम प्रधानमन्त्री प्रचण्डले राजनेतामा हुनुपर्ने गुण देखाउँदै राजीनामा दिएकोमा धन्यवाद दिँदै सभापति देउवाले भोलिका दिनमा पनि मिलेर काम गर्ने बताउनुभयो ।
उहाँले नेपालको राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर परराष्ट्र नीति बन्नुपर्ने बताउँदै छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध राख्नु पनि नेपालीको हितको विषय भएको उल्लेख गर्नुभयो ।
‘भारत र चीनको विरुद्ध नेपाली भूमि कहिले पनि प्रयोग हुन नदिनेमा हामीले आश्वस्त पार्ने गरी काम गर्नुपर्छ सभापति देउवाले भन्नुभयो ।’ रासस