जुम्ला, २५ जेठ । वन तथा भू–संरक्षण मन्त्रालयद्वारा सञ्चालित पश्चिम भू–परिधि कार्यक्रमको सम्भाव्यता अध्ययन सुरु भएको छ ।
पश्चिम पहाडका कर्णाली, भेरी र सेती अञ्चलका १४ जिल्लामा सम्भाव्यता अध्यययन सुरु गरिएको र यसले मुलुकको २८ प्रतिशत भूभाग समेटेको वन विभागले जनाएको छ ।
अध्ययनका लागि स्थानीय तहको सुझाव सङ्कलन लिने उद्देश्यले वन मन्त्रालय र नेचर हिमालयनले अन्तक्र्रिया गरिएको वन विभागका सहायक वन अधिकृत प्रकाश अर्यालले बताउनुभयो ।
सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. रामप्रसाद चौधरीले पश्चिम क्षेत्रको बसाइँ अवस्था, स्रोतको पहिचान र कार्यरत निकायका बारेमा अध्ययन गरिने उल्लेख गर्नुभयो ।
डा चौधरीले भू–परिधिमा पर्ने, जल, जङ्गल, जडीबुटी, पशुपक्षी, तालतलैया र खोलानालाका साथै कृषि प्रणाली, सामाजिक तथा आर्थिक अवस्था, कृषि पर्यटकीय सम्भावनाबारे अध्ययन हुने बताउनुभयो ।
प्रजिअ नारायणप्रसाद सापकोटाले नेपालमा धेरै विषयमा अध्ययन भइरहे पनि कार्यान्वयन तह कमजोर रहेको टिप्पणी गर्नुभयो । यो परियोजनालाई कार्यान्वयन क्षेत्रमा बलियो बनाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता अन्तक्र्रिया कार्यक्रम ग्रामीण इलाकामा गर्दा अझ प्रभावकारी हुनेमा जोड दिनुभयो ।
जिल्ला वन संरक्षण समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले पश्चिम पहाड भू–परिधिको सम्भाव्यता अध्ययन कार्यान्वयन तहमा देखिएमात्र यो परियोजनाले अर्थ राख्ने दाबी गर्नुभयो । उहाँले नेपालका नीति कार्यान्वयन गर्नै नसक्ने गरी बनेकाले कार्यान्वयन तह चुनौतिपूर्ण बन्दै गएको छ भन्नुभयो ।
उद्योग वाणिज्य सङ्घका जिल्लासदस्य गोर्खबहादुर पछाईले कर्णालीको जडीबुटी कौडीको भाउमा बिक्ने गरेकाले कर्णालीमै जडीबुटी प्रशोधन स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले कर्णालीलाई पर्या–पर्यटनको ढाँचामामा विकास गर्ने लक्ष्यका साथ चन्दननाथ नगरपालिकाको धिमीचौर छनोट गरिएको बताउनुभयो । प्रथमतः यसलाई जडीबुटी हव बनाउन आवश्यक रहेको औँल्याउँदै वन अधिकृत श्रेष्ठले सुख्खा क्षेत्रमा वृक्षरोपण कसरी गर्ने भन्ने सवाल त्यत्तिकै महत्वपूर्ण भएकाले यसका गतिविधि अघि बढाइको बताउनुभयो ।
पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष नेत्रबहादुर शाहीले यस अध्ययनले पर्यटकीय आधार तयार गर्न कर्णालीका वनलाई संरक्षित क्षेत्र बनाउनुपर्र्ने, जीवजन्तुको संरक्षण पार्क हुनुपर्ने ऐतिहासिक सिंजा क्षेत्रको धानखेती र पशुपालनको अवस्थामा अध्ययन गर्दा उपयुक्त हुने बताउनुभयो । रासस