Logo

मेहनती र संघर्षशीलको ताजा नमुना महेशराज



आर्थिक रूपमा समृद्ध हुन र सुन्दर भविष्य निर्माण गर्न विदेश नै जानुपर्छ भन्ने बुझाइ अधिकांश नेपालीको छ । र त सके युरोप, नसके खाडी मुलुक जानेको लर्को ठूलै छ । यद्यपि अपवादबाहेक त्यो जमातको यस्तो सपना सपनामा सीमित रहने गर्छ । तर, उहाँले कहिल्यै बिदेसिने सोच बनाउनुभएन । बनाउनुभयो त विदेशको पनि कला–अनुभव बटुलेर स्वदेशमा नै केही गर्ने योजना । नेपालमै रहेर केही गर्न सकिन्छ भनेर कम्मर कसेर लागिपर्नुभएका उहाँले यो तथ्य प्रमाणित गरिदिनुभयो र सफल पनि हुनुभयो, । स्वदेशी लगानी, उत्पादन, व्यापार–व्यवसायलाई प्रवर्धन गर्दै आन्तरिक रोजगारी बढाउन उहाँको ठूलो देन रहेको छ । निरन्तरको मेहनत, संघर्ष र लगनशीलताबाट सफलताको सिढी चढ्दै शिखरतर्फ लम्कनुभएका युवा व्यवसायी, समाजसेवी, शिक्षाप्रेमी, ‘एभ्रीटाइम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ’ लि. का संस्थापक अध्यक्ष तथा ‘एभ्रीटाइम गु्रप’ प्रा.लि.का अध्यक्ष महेशराज खकुरेलको अन्तर्कथा हो यो ।

महेशराजको जन्म विक्रम सम्वत् २०३६ कार्तिक ५ गते राजधानीनजिकैको काभ्रेपलाञ्चोक जिल्ला तत्कालीन कोशीदेखा गाउँ पञ्चायत–७ मा केशवप्रसाद खकुरेल र धनलक्ष्मीका २ छोरा तथा २ छोरीमध्ये दोस्रो सन्तानको रूपमा भएको हो । उहाँका दिदी सुमित्रा, बहिनी विनीता र भाइ मदन हुनुहुन्छ । उसो त उहाँको बाल्यकाल अन्य साथीसंगीको जस्तै सामान्य किसिमले बित्यो ।

सानैदेखि इमानदार, मिलनसार, लगनशील, मेहनती र तीक्ष्ण बुद्धिका उहाँ आफ्नो काम तथा जिम्मेवारीप्रति भने सदा प्रतिबद्ध रहनुभयो । त्यस्तै ६ वर्षको उमेरमा उहाँलाई घरबाट पैदल करिब १० मिनेटको दूरीमा रहेको श्रीराम माध्यमिक विद्यालयमा भर्ना गरियो । गाउँको मध्यमवर्गीय परिवारमा जन्मनुभएका महेशराजको बुबा केशवप्रसादचाहिँ घरदेखि झन्डै १ घण्टा टाढा पर्ने शिखरकटेरीस्थित विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो भने आमा धनलक्ष्मी कुशल गृहिणी हुनुहुन्थ्यो । त्यतिबेला उहाँहरुको मुख्य पेसा भनेको कृषि र पशुपालन नै थियो । महेशराज विहान खाना खाएर १० बजेदेखि दिउसो ४ बजेसम्म विद्यालय जानुहुन्थ्यो, बीचमा १ बजे आधि घण्टा खाजा खाने छुट्टी हुन्थ्यो । यद्यपि उहाँहरु खाजा खानुहुन्नथ्यो । पढाइका अतिरिक्त महेशराजको बिहान–बेलुकाको ‘ड्युटी’ भनेको पानी बोक्ने हुन्थ्यो । ‘त्यतिबेला हाम्रो गाउँमा पिउने पानीको निकै समस्या थियो, मेरो बिहान–बेलुकाको काम भनेकै पानी खेप्ने हुन्थ्यो’ आफ्नो बाल्यकाल स्मरण गर्दै उहाँ भन्नुहुन्छ– ‘पानी लिन जान ४५ मिनेटजति ओरालो बाटो हिँड्नुपर्दथ्यो, आउँदा त झन गाह्रो– उकालो र भारी पनि ।’ यसरी बिहान–बेलुका कम्तिमा २÷२ खेप पानी ओसार्नुपर्ने उहाँको बाध्यता थियो । शुक्र–शनिवार र छुट्टीको दिन भने उहाँ साथीभाइहरुसँग गोठालो जानुहुन्थ्यो । तर, घाँस–दाउरा गर्न नआएको र गर्नु पनि नपरेको उहाँको कथन छ । अझ सकारात्मक पाटो त के भने उहाँ सबै साथीभाइसँग सजिलै र अत्यन्तै घुलमिल हुनुहुन्थ्यो । र त उहाँका साथी धेरै थिए अनि सबैले काममा सरसहयोग गर्थे । यो सिलसिला लामै समय चल्यो । यही क्रममा २०५५ सालमा उहाँले श्री राम माविबाटै एसएलसी पास गर्नुभयो ।

प्रसंग २०५६ सालतिरको हो– महेशराजको दैनिकीमा केही परिवर्तन आयो । उच्च शिक्षा अध्ययनका लागि उहाँ राजधानी छिर्नुभयो । हुन त काठमाडौं बेलाबखत आउजाउ गरिरहनुभएका उहाँको लागि खासै नौलो थिएन । तर, पढाइ तथा व्यवस्थापनले थप जिम्मेवारी तुल्यायो । उहाँ यता आउनुभएपछि काका बद्रीप्रसादसँगै बस्न थाल्नुभयो र भक्तपुरस्थित सानोठिमी क्याम्पसमा शिक्षा विषय लिएर पढ्नभयो । त्यहाँबाट आईएड पास गरेर व्यवस्थापन विषयमा चाबहिलस्थित पशुपति क्याम्पसमा भर्ना हुनुभयो । त्यो बीचमा रोजगारीका लागि प्रयास त गर्नुभयो तर कम सास्ती व्यहोर्नुपरेन । तैपनि हरेस नखाइ जागिरकै खोजीमा डटिरहनुभयो । अन्ततः जागिर लगाइदिएबापत १० हजार कमिसन बुझाएर ‘मोनिका इन्कर्पोरेशन’ मा सेवा थाल्नुभयो– मासिक ५ हजार पाउने शर्तमा । तर, दुर्भाग्य, त्यो कम्पनी आफैंमा खराब रहेछ उहाँले काम थालेको ३÷४ महिनामा नै बन्द भयो, टाप कस्यो । त्यसपछि भने २०५९÷६० मा उनै समाजसेवी–व्यापारी काका बद्रीप्रसादको संरक्षकत्वमा भक्तपुरको पेप्सीकोलामा ‘साइबर एन्ड कम्युनिकेशन’ खोल्नुभयो । त्यो त्यस्तै दुई वर्षजति चल्यो अनि बेचिदिनुभयो । फेरि महेशराज केही महिना बेरोजगार बन्नुभयो । अनि आफन्तको र ‘मार्केटिङ’ गर्ने साथीहरुको सरसल्लाहमा उहाँले ‘हिमालयन फुड प्रोडक्ट’ नामक कम्पनी खोल्नुभयो ।

अनामनगरमा कार्यालय राखिएको सो कम्पनीबाट ‘ड्राइफुट प्याकिङ’सहित ‘सप्लाइ’ सुरु गरियो । र, यसले राम्रो बजार पक्रियो । ‘विशेषतः पेस्ता, आलमन्ड, आलुचिप्स किसमिस, काजुलगायत १५ भन्दा बढी प्रकारका सामान बजार पु¥याइयो’ महेशराज गर्वका साथ भन्नुहुन्छ– ‘त्यो एभ्रीटाइम फुड्स नेपाल प्रा.लि. को नाममा हाल निकै चर्चामा छ ।’ यतिमात्रै होइन– ‘एभ्रीटाइम फुड्स’ले पहिलेभन्दा २० वटाभन्दा बढी प्रकारका चीज थपेको छ– जुन स्वदेशी र केही विदेशी पनि छन् । यस अर्थमा त यसले ‘आईएसओ ९००१ः२०१५’ अन्तर्राष्ट्रिय गुणस्तर चिह्न पनि पाएको छ । यसैको परिणाम गु्रपले उत्कृष्ट ‘ब्राण्ड अवार्ड’ पनि पाएको छ । हाल नेपाल, चीन र अष्ट्रेलियाको बजारमा लोकप्रिय बनेको ‘एभ्रीटाइम फुड्स’लाई ‘ग्लोबल मार्केट’मा लाने योजना रहेको महेशराज बताउनुहुन्छ ।

त्यसो त महेशराजले पछि ‘एभ्रीटाइम गु्रप प्रा.लि.’ नै बनाउनुभयो । ‘एभ्रीटाइम’ मातहतमा हाल अन्य केही संघ–संस्था पनि सञ्चालनमा छन्– जसमध्येको एक कालोपुलमा रहेको ‘एभ्रीटाइम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.’ पनि हो । ‘त्यसमा म संस्थापक अध्यक्ष भएँ, हालचाहिँ अध्यक्षमा राम श्रेष्ठ हुनुहुन्छ भने राजकुमार श्रेष्ठ, ज्ञानेन्द्रकुमार उप्रेतीलगायतका साथीको पनि अहम् भूमिका छ’ महेशराज स्पष्ट पार्नुहुन्छ । ‘एभ्रीटाइम गु्रप’ले घरजग्गालगायत अन्य योग्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ । महेशराज हाल थुप्रै वित्त संस्थाको सल्लाहकार हुनहुन्छ भने विभिन्न संघ–संस्थाले आयोजना गरेका कार्यक्रममा असंख्य पुरस्कार हात पार्नुभएको छ । यही अन्तरालमा केही समयअघि अमेरिकामा सम्पन्न एक कार्यक्रममा समेत उहाँ सहभागी हुनुभयो । पछिल्लो चरणमा ‘रिपोर्टर्स क्लब नेपाल’ले आयोजना गरेको क्लबको १९औं वार्षिकोत्सवमा तत्कालीन प्रधानमन्त्री प्रचण्डबाट पुरस्कृत हुनुभयो उहाँ । खेलकुदमा पनि दख्खल उहाँ आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

महेशराजको विवाह भने २०६८ मंसिर ५ गते काभ्रेपलान्चोक पलिवेशीकी अमृता कँडेलसँग भएको हो । सानैदेखि काठमाडौंमा बस्दै आउनुभएकी अमृतासँग उहाँको अध्ययनकै क्रममा भेट भयो । तर, विवाह भने मागी भएको हो । ‘उहाँका आफन्तबाट प्रस्ताव आयो, देखभेट र कुराकानी भयो । आपसमा मन परायौं अनि मागीविवाह भयो’ महेशराज हल्का मुस्कान छर्दै खुलासा गर्नुहुन्छ । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्यापन गर्नुहुने अमृता समाजसेवामा पनि उत्तिकै सक्रिय रहनुभएको छ । उहाँहरुको हाल ५ वर्षीय छोरा आरम्भ हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्