काठमाडौं, जेठ २७ । विश्वकप २०१८ को छनोटअन्तर्गत गएराति भएको खेलमा स्वीडेनले फ्रान्सलाई हराएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्स स्वीडेनसँग अबे मैदानमा २–१ ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई जिताउन जिमी डर्माज र ओला टोइवोननले गोल गरे । फ्रान्सका लागि ओलिभर जिरउडले एक गोल गरेका थिए ।
जिरउडले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए पनि ४३ औं मिनेट र इन्जुरी समयमा गोल गरेर स्वीडेनले खेल २–१ ले जित्दै आफ्नो पक्षमा पारेको हो । जितसँगै स्वीडेन समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा झरेको छ ।
समूह ए अन्तर्गत नै भएको खेलमा नेदरल्याण्डसले लग्जेम्बर्गलाई ५–० तथा बेलारुसले बुल्गेरियालाई २–१ ले हरायो ।
गएराति नै भएको समूह ‘बी’ को खेलमा पोर्चुगलले लात्भियालाई ३–० ले हरायो । पोर्चुगलको जीतमा कप्तान क्रिष्टियानो रोनाल्डो नायक बन्दै दुई गोल गरे भने एक गोल भालेन्टे सिल्भाले गरे ।
रोनाल्डोले विश्वकप छनौट खेलमा अहिलेसम्म ११ गोल गरिसकेका छन् र उनी युरोपियन क्षेत्रमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । पोर्चुगलले छनौट चरणका पछिल्ला पाँच खेलमा जितेको छ । ६ खेलबाट १५ अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ ।
गएराति नै भएको खेलमा फारोइ आइल्याण्डलाई २–० ले हराउँदै स्वीट्जरल्याण्ड १८ अंकसहित शीर्ष स्थानमा छ । समूह बी कै खेलमा एन्डोराले हंगेरीलाई १–० ले हरायो ।