काठमाडौं, ३० जेठ। श्रीलंकालाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इंग्लण्डमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको समुहको अन्तिम खेलमा पाकिस्तान ३ विकेटले विजयी भयो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपुर्व २ सय ३६ रन जोड्यो ।
श्रीलंकाको लागि निरोशान डिकेलाले ७३ रन जोड्दा कप्तान एन्जेलो म्याथ्युजले ३९ रनको योगदान दिए । बलिङतर्फ पाकिस्तानका जुनेद खान र हसन अलीले ३/३ विकेट लिए ।
जवाफमा २ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ औं ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पार ग¥यो । पाकिस्तानको जितमा नायक बनेका शरफराज अहमदले अविजित ६१ रन जोड्दा फाखर जमानले ५० रनको योगदान दिए ।
जितसँगै पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंकाको यात्रामा पूर्णविराम लागेको छ । पाकिस्तानले अब सेमिफाइनलमा घरेलु टोली इंग्लण्डको सामना गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा भारत र बंगलादेश भिड्नेछन् ।