काठमाडौं, ३० जेष्ठ । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि सरकारले सम्पूर्ण सुरक्षा प्रबन्ध गराईसकेको बताएका छन् ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको विशेष अन्तरक्रियामा मन्त्री शर्माले निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाईसकेको समेत जानकारी गराए । उनले अन्तरक्रियामा सुरक्षा प्रबन्धबारे कुनै सम्झौता नहुने भन्दै सरकार पूर्णतः तयारी अवस्थामा रहेको विश्वास दिलाए ।
उनका अनुसार सबै सुरक्षा निकायका प्रमुखसँग आफूले पर्याप्त छलफल गरिसकेका छन् । छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
उनले निर्वाचन आयोगका पदाधिकारीहरुलाई ढुक्क भएर निर्वाचनसम्बन्ध कार्यक्रमहरु जारी राख्न आग्रह गरेका छन् । उनले भने,‘निर्वाचनमा कुनै अप्रिय घट्ना नहोस् भनेर हामीले विशेष सतर्कता अपनाएका छौं, त्यसैले म यहीँबाट आश्वस्त पार्न चाहन्छु, ढुक्क भएर मतदान गर्नुहोस्।’