Logo

निर्णायक भनिएको ५ दलको बैठक जारी, राजपाद्धारा लिखित प्रतिबद्धता जनाउन अस्विकार



काठमाडौं, ३१ जेठ । असार १४ गतेको निर्वाचनमा आन्दोलनरत राजपा नेपाललाई सहभागी गराउनेबारे सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राजपा नेपाल र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमवीचको बैठकमा शीर्ष नेताहरुवीच विवाद उत्कर्षमा पुगेको छ।

सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा जारी ५ दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपाल चुनावमा सहभागी गराउन हर प्रयास गर्ने र त्यसको लागि अहिले नै लिखित प्रतिबद्धता जनाउनको लागि आग्रह गरेका थिए । तर, राजपाका नेताहरुले चुनावमा जानको लागि के को लिखित प्रतिबद्धता ? पहिले संविधान संशोधन गर्नुहोस् भनेपछि सत्तारुढ दलका नेताहरु आश्चर्यमा परेका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावको मिति अब एक दिनपनि तलमाथि गर्न नपाईने अडान लिएको छ । उम्मेद्धवारी मनोनयन दर्ताको मिति दुई दिन पर सार्न गरेको सत्तारुढ दलको प्रस्ताव पनि एमालेले ठाडै अस्विकार गरिदिएको छ।

बैठकबाट बाहिरिएका एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारले उम्मेद्धवारी मनोनयन दर्ताको समय दुई दिन पर सार्नेगरि प्रस्ताव गरेको बताउँदै भने,‘यस्तो तरिकाले के हुन्छ ? चुनाव गराउन खोजेको हो कि ? वा के गर्न खोजेको हो ?’

परिस्थिति भए तराई मधेशमा अर्को चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव प्रधानमन्त्री देउवाले यसअघिनै गरिसकेका छन् तर, यसको लागि राजपा नेपालले प्रतिबद्धता जनाउनुपर्ने सत्तारुढ दलको अडान छ । आजको बैठकमा पनि प्रधानमन्त्री देउवाले राजपालाई लिखित प्रतिबद्धता जनाए निर्वाचनको मिति पर सार्न सकिने आग्रह गरेका थिए ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर, विजयकुमार गच्छदार लगायत शीर्ष नेताहरु सहभागी छन्। बैठक जारी छ ।



प्रतिक्रिया दिनुहोस्