Logo

भूकम्पपीडितलाई कृषि औजार वितरण



खोटाङ, १ असार । भूकम्पपीडित किसानलाई जिल्ला कृषि विकास कार्यालयले कृषि औजार वितरण गरेको छ ।

किसानलाई जमिन जोत्ने हाते ट्र्याक्टर, धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोडाउने कर्न सेलर, पानी फाल्ने पापा पम्प, थोपा सिँचाइ गर्ने ड्रिम इरिगेसन सेट, बीउ तथा अन्न भण्डारण गर्ने हर्मेटिक झोलालगायत कृषि औजार वितरण गरेको हो ।

रातो कार्ड पाएका भूकम्पपीडितलाई राष्ट्रिय पुनःनिर्माण कोषको रु एक करोड ४९ लाख बराबरको कृषि उपकरण गत जेठ दोस्रो सातादेखि वितरण सुरु गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

हर्मेटिक झोला शतप्रतिशत तथा अन्य उपकरण ९० प्रतिशत अनुदानमा वितरण भइरहेको उहाँले बताउनुभयो । उपकरणमा १० प्रतिशतमात्र रकम बेहोर्नुपर्ने भएकाले कार्यालयमा उपकरण लिन आउने किसानको सङ्ख्या बढ्दै गएको अधिकृत घिमिरेले बताउनुभयो ।

“भूकम्पपीडितको बाहुल्यता भएको क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उपकरण वितरण गरिरहेका छौँ,” उहाँले भन्नुभयो । आधुनिक कृषि औजार वितरणका लागि कार्यालयले गत पुसमा आवेदन खुलाएको थियो । प्रतिवटाको रु ८८ हजार पर्ने १७ वटा हाते ट्र्याक्टरमध्ये हालसम्म सातवटा किसानले लगिसकेका छन् । प्रतिवटाको रु एक लाख पर्ने २१ वटा थ्रेसर मेसिनमध्ये हालसम्म चारवटा वितरण गरिएको छ ।

प्रतिवटाको रु १५ हजार पर्ने ४५ वटा कर्नसेलरमध्ये नौवटा वितरण भइसकेको छ । भूकम्पपीडित किसानलाई कृषिमार्फत प्रतिवटा रु ३० हजार पर्ने ४५ वटा ड्रिम इरिगेसन सेट, प्रतिवटा रु २८८ पर्ने नौ हजार हर्मेटिक ब्याग र प्रतिवटा रु पाँच लाख पर्ने छ सेट पापा पम्प वितरण गर्ने तयारी भइरहेको घिमिरेले बताउनुभयो ।

“ठूलो परिमाणमा हर्मेटिक ब्यागको टेन्डर आह्वान गरिएको छ,” उहाँले भन्नुभयो । प्रतिवटा रु ५५ हजारको ६० वटा प्लास्टिक पोखरी निर्माणका लागि सम्झौताको तयारी भइरहेको छ । कृषि उपकरण असारभित्र वितरण गरिसक्ने कार्यालयले जनाएको छ । सबैभन्दा बढी हाते ट्र्याक्टरका लागि किसानको आवेदन परेको थियो । जमिन जोत्न, मकै छर्न, जेनेरेटरका रुपमा उपयोग गर्न, पानी पम्पलगायतमा उपयोग हुने भएकाले हाते ट्र्याक्टरप्रतिको माग बढेको घिमिरेको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्