Logo

शान्ति कोषमा रु. आठ लाख सहयोग



बाबियाचौर (म्याग्दी), २ असार । ओमकुमारी शान्ति कोष म्याग्दीलाई बहराइनमा रहेका प्रवासीले रु आठ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । जटिल रोगबाट थलिएका गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापित उक्त कोषलाई म्याग्दी उद्धार समिति बहराइनको पहलमा रु आठ लाख ३७ हजार ५५५ उपलब्ध गराइएको हो ।

समितिका मानार्थ सदस्य खप्रसाद शेरपुञ्जा, व्यवस्थापन सहसचिव रमेश खत्री र सदस्य घनबहादुर कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई बिहिवार सो रकम हस्तान्तरण गर्नुभएको हो ।

समितिले संस्थागत रुपमा रु एक लाख, अध्यक्ष तेजेन्द्र थापाले रु एक लाख, हिरा पाइजाले रु एक लाख एक हजार, दग्नाम समाज बहराइनले रु साठी हजार, कोषाध्यक्ष विकास पाइजाले रु सत्तरी हजार, गोखर राम्जालीले रु ५५ हजार ५५५ र सल्लाहकार भरत रत्नले रु ५६ हजार सहयोग गर्नुभएको छ ।
आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनि म्याग्देलीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थापित कोषमा रु एक करोड ५० लाख पु¥याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–४ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा विसं २०७१ मङ्सिरमा स्थापित सो कोषले हालसम्म मुटु, मिर्गौला, रक्तक्यान्सर, हेपाटाइटिस बी, मलिग्रन्ट क्यान्सरलगायत जटिल रोगबाट थलिएका ३२ जना बिरामीलाई रु ७० लाखभन्दा बढी सहयोग जुटाएर उपलब्ध गराइसकेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्