Logo

५ नं. प्रदेशको राजधानी बुटवल हो : विष्णु पौडेल



काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले ५ नं. प्रदेशको राजधानी बुटवललाई बनाउने दाबी गरेका छन् ।

शुक्रबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले ५ नं. प्रदेशको राजधानी बुटवल बनाउने विषयमा एमालेभित्र सहमति भइसकेको बताए । ‘५ नं. प्रदेशको राजधानी बुटवल बन्छ । यसमा दुई मत छैन’, उनले भने, ‘५ नं. प्रदेशका केही पहाडी जिल्लालाई हटाएर बुटवललाई प्रादेशिक राजधानी बनाउन नदिने खेल सुरु भएको छ ।’

‘५ नं. प्रदेशको राजधानी बुटवल हो । कुनै हालतमा अन्यत्र जान दिँदैनौँ’, एमालेका प्रभावशाली नेता पौडेलले भने, ‘दाङलाई प्रादेशिक राजधानी बनाउने खेलको हामी विरोध गर्छौं । दाङलाई राजधानी बनाउने भनेर उच्च अदालत तुलसीपुरमा लगेर राखिएको छ । यो निर्णय हामी मान्न तयार छैनौँ । त्यो कुरा बुटवलका जनताले मान्दैनन् ।’

५ नं. प्रदेशको राजधानी दाङ बनाउने वा बुटवल बनाउने भन्ने विषयमा प्रमुख दलहरूका बीच विवाद रहँदै आएको छ । यस्तो अवस्थामा एमालेका प्रभावशाली नेता पौडेलले प्रादेशिक राजधानी बुटवललाई बनाउन आफूले सक्रिय भूमिका खेलेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्