Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता



नयाँ दिल्ली, १४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप अमेरिकाको चार दिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किनुभएको छ ।

उहाँ औपचारिक भ्रमणका लागि पोर्चुगल, नेदरल्याण्डस् र संयुक्त राज्य अमेरिका जानुभएको थियो । उक्त भ्रमण सकेर उहाँ बुधबारै स्वदेश फर्किनुभएको समाचारमा जनाइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रकाशन गर्नुभएको संक्षिप्त विज्ञप्तिमा भनिएको छ– प्रधानमन्त्री मोदी अमेरिका, पोर्चुगल र नेदरल्याण्ड्सको भ्रमण सफलतापूर्वक सम्पन्न गरी बुधबार बिहान स्वदेश फर्किनुभएको छ ।

उहाँलाई नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गर्नुभएको थियो ।
उहाँको भ्रमणका क्रममा पोर्चुगलसँग विभिन्न ११ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै नेदरल्याण्डस्सँग पनि विभिन्न तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

त्यस्तै संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको र उहाँहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरण र आपसी हितका विषयमा वार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदी सो भ्रमणका लागि गत शनिबार पोर्चुगलतर्फ प्रस्थान गर्नुभएको थियो । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्