Logo

भोलि वा पर्सीभित्रै मन्त्रिपरिषद विस्तार गर्ने देउवाको तयारी



काठमाडौं, १५ असार । दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट मन्त्रिपरिषद छिट्टै विस्तार गर्ने तयारीका साथ आन्तरिक गृहकार्यमा जुटेका छन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार उनले मन्त्रिपरिषद बैठक छिट्टै गर्नेबारे उनले आजैबाट होमवर्क थालेका छन् । जस अनुसार पहिले आफ्नै पार्टीभित्रका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । उनले आजमात्रैपनि पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग उनको समूहबाट सरकारमा सहभागी हुने मन्त्रिहरुको नाम माँगेका छन् ।

आज र भोलिमा उनले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाउने प्रधानमन्त्री देउवाले तयारी थालेका छन् ।

कांग्रेस र माओवादी केन्द्रवीचको भागबण्डा अनुसार कांग्रेसले १० र माओवादी केन्द्रले ९ वटा मन्त्रालय राख्ने सहमति भएको छ । कांग्रेसभित्र रामचन्द्र समूहले ४ वटा मन्त्रालय माँग गरिरहेको छ । यदि यस्तो हो भने देउवाको भागमा जम्मा ६ वटा मात्रै मन्त्रालय पर्ने देखिन्छ ।

त्यस्तै सत्ता गठबन्धनलाई बलियो बनाउनको लागि प्रधानमन्त्री देउवाले साना दलहरुलाई समेत सरकारमा सहभागी गराउने बुझिएको छ । यदि यसो हुने हो भने कांग्रेस र माओवादीको एक/एक मन्त्रालय घट्ने समेत बुझिएको छ ।

निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री देउवा अहिले दुई वटा महत्वपूर्ण कार्यमा व्यस्त देखिन्छन् । जस अनुसार उनले असोज ३ गतेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गर्नेगरि गृहकार्य थालेका छन् । र, चुनावलाई समयमै सम्पन्न गर्नेगरि ध्यान केन्द्रित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्