झापा, १६ असार । झापामा नेकपा एमाले र नेकपा माओेवादी केन्द्रले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ ।
बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी भएकोे निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए । त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि नेकाका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत पाएका छन् छ भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याईरहेका छन् ।
बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी भएका छन् भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, नेकपा एमालेले २६८ र नेकपा माओवादी केन्द्रले १८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए । रासस