Logo

धादिङमा विशेषज्ञ डाक्टरसहितको २४ सै घण्टा सेवाको सुनिश्चितताको थालनी भएको छ : वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठ



म महेश्वर श्रेष्ठ । २०५३ सालमा जिल्ला स्थापना कार्यालय; म्याग्दीको जनस्वास्थ्य अधिकृत पदमा नियुक्ति भै विभिन्न जिल्ला जनस्वास्थ्य कार्यालयहरु जस्तै रुपन्देही, दाङ, भक्तपुर, रसुवा, रामेछाप, मनाङ, बाग्लुङ हुँदै हाल जिल्ला स्वास्थ्य कार्यालय, धादिङको वरिष्ठ जनस्वास्थ्य प्रशासक पदमा कार्यरत रहेको जानकारी गराउँछु ।

धादिङ जिल्लाको परिचय :–
उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ । बुढी गण्डकी, नेत्रावती र त्रिशुली जस्ता अनेकौ नदिनाला र प्राकृतिक मनोरम दृष्यहरुले भरिपूर्ण सुन्दर यस जिल्लामा गंगाजमुना झरना, झार्लाङको तातोपानी मूल, गुप्तेश्वर, चमेरे गुफा जस्ता गुफाहरु, सुनौलोबजारको भैरवी मन्दिर, विन्दुकेशर, सिद्धलेक, मण्डलीमाई सल्यानकोट माई जस्ता धार्मिक स्थलहरु, ज्वालामुखी, सोलीघोप्टे जस्ता हिमाली दृष्यहरु देखिने पर्यटकिय महत्वका स्थलहरु र सल्यानटार, विशालटार जस्ता चर्चित समथर टारहरु नै यस जिल्लाको विशेषता हो ।
जिल्लाको नामाकरण कसरी भयो भन्ने विषयको खोजी गर्ने हो भने जिल्लाका दक्षिणी भेगमा चेपाङहरुको वस्ती रहेको र उनीहरुको भाषा अनुसार ‘धा’ को अर्थ आगोको ज्वाला र ‘दिङ’ को अर्थ देवता भन्ने हुन्छ । हाल पनि कुरिनटारको धुँवा निस्की रहने एउटा दुलोमा चेपाङहरु पूजा गर्ने गर्छन् । जिल्लाको कूल क्षेत्रफल १९२४.९ वर्ग कि.मी. रहेको छ ।
साविकमा ४६ गा.वि.स. र १ नगरपालिका रहेको यस जिल्ला हाल २ नगरपालिका र ११ गाउँपालिकामा विभक्त गरिएको छ ।

जिल्लाको पछिल्लो स्वास्थ्य अवस्था :–

जिल्लाको समग्र स्वास्थ्य अवस्थाको अध्ययन गर्ने हो भने देशका अन्य जिल्लाहरुसँगको तथ्याङ्कगत आधारमा तुलना गर्दा सन्तोषजनक नै देखिन्छ । विगत २०७२ को महाभुकम्प पश्चात् क्षतिग्रस्त संरचनामार्फत स्वास्थ्य सेवा प्रवाह गरिनु पर्दाका अफ्ठ्याराहरुका कारण जिल्लाले प्रदान गर्दै आएका स्वास्थ्य सेवाहरुमा केहि बाधा रहेको पाइन्छ । स्वास्थ्य सेवा विभागले प्रक्षेपण गरेको आधारमा हाल जिल्लाको कूल जनसंख्या ३,४७,७५५ रहेको छ, जसमा स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्ने हो भने यस जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार खोप सेवामा उल्लेख्य प्रगति देखिन्छ । गत मंसिरसम्ममा जिल्लाभरका १४ वटा साविकको गा.वि.स.मात्रै पूर्ण खोपयुक्त घोषणा गर्न सकिएकोमा पछिल्लो ७ महिनामा त्यसलाई बढाएर ३४ पु¥याइएसकिएको छ र अन्य बाँकीमा समेत पूर्ण खोप घोषणाको सम्पूर्ण तयारी पुरा भैसकेकोले निकट भविष्यमानै जिल्लालाई नै पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने कार्य तिव्र गतिमा अघि बढिरहेको पाइन्छ । खोपको लागि दिइएको बच्चाहरुको लक्ष्य बढी वा जिल्लाबाट अन्यत्र बसाइ सराइका प्रभावले प्रगतिलाई तथ्याङ्कगत रुपमा हेर्ने हो भने चाहिँ लक्ष्य अनुरुपको प्रगति ८०% को हाराहारीमा मात्रै देखिन्छ तापनि हाम्रा जिल्लाका पूर्ण खोप घोषित साविकको गा.वि.स.हरुमा कुनै पनि लक्षित उमेरका बालबालिका खोपबाट बञ्चित भएका छैनन् भन्ने कुरामा हामी विश्वस्त छौ । त्यसैगरी सुरक्षित मातृत्व तर्फ गर्भवती अवस्थामा प्रथम पटक जाँच गर्नेको संख्या विगतको अवस्था भन्दा बढेर करिब ७६% को अवस्थामा छ भने चौथो पटकको जाँचको अवस्था ६८% छ । अर्कोतर्फ स्वास्थ्य संस्थामा प्रशुति हुनेहरुको तथ्याङ्क यस जिल्लामा ६६% देखिन्छ । सुत्केरी जाँचको स्थिति भने यस जिल्लामा सोचे अनुरुपको प्रगति देखिदैन । यि सबै सेवाहरुको प्रगति वृद्धिका लागि जिल्लाका विकट लापा, तिप्लिङका सामुदायिक स्वास्थ्य इकाइमा समेत करारमा तालिम प्राप्त दक्ष प्रशुतिकर्मीको व्यवस्था गरिएको छ ।

परिवार नियोजनको प्रयोगकर्ताको दर यस जिल्लाका करिब ४२% मात्र रहेको छ । जसका लागि यस आर्थिक वर्ष देखि नै विशेष योजनाका साथ जिल्ला भरका स्वास्थ्य चौकीहरुमा आगामी आर्थिक वर्षको लागि परिवार नियोजनका ५ वटै साधनहरु कण्डम, पिल्स, डिपो, इम्प्लाण्ट र आई.यू.डि.को नियमित उपलब्धताका लागि मध्यमाञ्चल विकास क्षेत्रमा यो जिल्ला छनौट भएको छ । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्रमा यी सेवाका अतिरिक्त पुरुष बन्ध्याकरण (Vasectomy) र जिल्ला अस्पतालमा पुरुष बन्ध्याकरण (Vasectomy) साथै महिलाको लागि स्थायी बन्ध्याकरण मिनील्याप(Minilap)  सेवा नियमित रुपमा उपलब्ध गराउन योजनाका साथ कार्य अगाडी बढाएको छ । अन्य क्षयरोग, कुष्ठरोग, पोषण, एच.आई.भी.÷एड्स लगायतका कार्यक्रमहरुको पनि प्रगति सुधारोन्मुख देखिन्छ ।

दुर्घटनाको व्यवस्थापन, चुनौती र सम्भावना :

दुर्घटनाका कारण एकैपटकमा आउने ठूलो संख्याका घाइतेहरुको उचित व्यवस्थापनका लागि जिल्लामा रहेको एकमात्र सरकारी अस्पताललाई सुदृढीकरण गर्दै लगिएको छ, तथापी घाइतेहरुको प्रारम्भिक वा प्राथमिक उपचार पश्चात ठूला अस्पतालका प्रेषण गर्नुपर्ने अवस्था छदैछ । घाइतेहरुको उचित स्थनान्तरण, स्तरिय प्राथमिक सेवाबाट उनीहरुको अवस्था अझ विग्रन नदिन र छिटोभन्दा छिटो सम्बन्धित सेवामा पु¥याउनका लागिMedical Team International (MTI) नाम गैरसरकारी संस्थासँगको सहकार्यमा जिल्लाभरका लगभग ५० जना डाक्टर सरित स्वास्थ्यकर्मीहरुलाई Rural Medical Responder (RMR) Training यसै आ.व.मा सम्पन्न गरिएको छ भने बाँकी करिब ३५० स्वास्थ्यकर्मीलाई नै क्रमशः यो तालिम दिलाउने योजना बनाइएको छ साथै समुदायमा स्वयंसेवक, शिक्षक, ट्राफ्रिक प्रहरी, नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाल सेवालाई समेत यस्तै खालको प्राथमिक उपचार तालिम (Rural First Responder Training) जिल्लाका दक्षिण भेग (Highway Belt) का केहि साविकका गा.वि.स.हरुमा सम्पन्न भै सकेको र यो जिल्ला भरीनै विस्तारको चरण रहेकोमा छ । जिल्लामा रहेका एम्बुलेन्सहरुलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउनका लागि विशेष तयारीका साथ काम अगाडी बढीरहेको छ र छोटो समयभित्रै यसको परिणाम देखिने छ र यो तयारी सम्पन्न भैसके पश्चात स्वास्थ्य संस्था वा अस्पतालमा मात्र सेवा सिमित नभई दुर्घटना स्थलमानै तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको टोली छिटोभन्दा छिटो पुगी आवश्यक प्राथमिक उपचार सेवा प्रदान गर्न HOT line telephone सेवाका साथ Ambulance को व्यवस्था गरिदै छ जनु देशको नै एक पहिलो नमुना कार्य हुँदैछ ।

यद्यपी यसमा पनि थुप्रै चुनौती भने रहेका छन् । जिल्लामा रहेका अधिकांश मोटरबाटोको अवस्था कच्ची र मौसमी भएका कारणAmbulance,, दक्ष स्वास्थ्यकर्मी, Hot line Service बाट तुरुन्त जानकारी पाएपनि छिटोभन्दा छिटो उपचार सेवा प्रदान गर्न भने सोचेजति सहज नभएको कुराले भने जिल्ला स्वास्थ्य कार्यालयलाई समय समयमा चिन्तित बनाउने गरेको छ । यसका साथै विगतमा भएका ठूला दुर्घटनाहरुको व्यवस्थापनमा एउटै घटनामा लाखौ रुपैयाको औषधी, उपचारको जरुरी हुने र सोको लागि दुर्घटना व्यवस्थापनको छुटै बजेट÷कोषको व्यवस्था हुन नसक्दा कसरी व्यवस्थापन गर्ने, त्यस्ता समयमा सञ्चालित गाडी अनि दर्जनौ एम्बुलेन्सको खर्च व्यवस्थापनमा भने ठूलै समस्या आउने गरेको पाइन्छ । तैपनि यस्ता अवस्थाहरु र आर्थिक व्यवस्थापनको पाटोमा बहुपक्षिय साझेदारीमा योजनाका साथ अघि बढ्ने खालका तयारी भने भैरहेको छ ।

विकट ग्रामिण क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, सेवाको पहुँच र बाधा अड्चन के छ ?

विकट ग्रामिण क्षेत्रको स्वास्थ्य सेवाको अवस्थालाई हेर्दा स्वाभाविक रुपमा सुगम क्षेत्रको भन्दा केहि कमजोर देखिन्छ । विशेषत विकट भैसकेपछि विकासका अन्य पूर्वाधारमा समेत पछाडी पर्ने हुँदा स्वास्थ्य क्षेत्रमा पनि त्यसको प्रत्यक्ष असर पर्छ । जस्तै बाटोको समस्या, विजुलीको समस्या त्यसको कारणले गर्दा स्तरिय स्वास्थ्य सेवा प्रदायक भवन, अत्यावश्यकीय उपकरणको सञ्चालन, विजुलीबाट चलाउनुपर्ने उपकरणका साथै फ्रिज सञ्चालनमा कठिनाई आदिले गर्दा सेवाको गुणस्तरियतामा कहि न कहि compromise हुन जान्छ, त्यसका साथै विकट भएकै र थप सुविधा नभएका कारण स्वास्थ्यकर्मीहरुलाई दुर्गम क्षेत्रमा पठाउनमा समस्या, पठाइएकाहरु पनि कम बसिदिने, छिट्टै सरुवा मिलाएर जाने, बसेकाहरुमा पनि तालिम गोष्ठी आदि पर्दा टाढा भएकै कारण धेरै समय बाटो म्यादमै गुज्रने जस्ता समस्याले गर्दा सेवाको पहुँचमा केहि समस्या देखिएको छ भने विकट भएकै कारण शिक्षाको समेत अवसरबाट वञ्चित भै स्वास्थ्य जनचेतनामा कमी र परम्परागत तथा रुढीवादी उपचार पद्धतीमा विश्वास गरी आधुनिक स्वास्थ्य सेवा उपभोगमा समेत कम सहभागिता भै धामी झाक्रीमा निर्भर भएको समेत यदाकदा पाइन्छ । यस्ता बाधा अड्चनहरु हटाउन स्वास्थ्य क्षेत्रको एक्लो प्रयासले सम्भव छैन, क्रमिक रुपमा शिक्षा, यातायात, विजुलीजस्ता क्षेत्रमा सुधार हुँदै जाँदा स्वास्थ्यमा पनि क्रमशः सुधार हुँदै जान्छ, यद्यपी न्यून पूर्वाधार र थोरै जनशक्तिले पनि स्वास्थ्यका अत्यावश्यकीय सेवामा भने विकट ग्रामिण क्षेत्रमा समेत सेवा प्रवाह गरिदै आएको छ ।

धादिङ गैसकेपछि सुधारिएको स्वास्थ्य अवस्थाबारे प्रकाश/ उल्लेखनिय र राम्रा कामहरु ?

विगत ७ महिनादेखि धादिङमा रहेर आफूले निर्वाह गरेको भूमिका साथै जिल्लाको स्वास्थ्य अवस्थाको विषयमा फर्केर हेर्ने हो भने थुप्रै उल्लेखनिय कार्यहरु भएका छन् यथापी यति छोटो अवधिमा स्वास्थ्यका सूचकहरुमा नै देखिने गरी प्रगति भने आउन भ्याउँदैन । म धादिङ आएकै महिनादेखि समग्र जिल्लाको स्वास्थ्य अभिलेख प्रतिवेदनमा सुधार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै नियमित स्वास्थ्य संस्था प्रमुखहरुको मासिक बैठक जिल्लालाई ४ रिर्पोटिङ सेन्टरमा विभाजन गरी शुरु गरिएको, जसमा कार्यक्रममा लक्ष्य प्रगति, साथै अभिलेख प्रतिवेदनमा देखिएका समस्या वा सुधार गर्नुपर्ने पक्षहरुलाई सघनरुपमा निचोड सहितको छलफल एवं निर्णय गर्ने थालियो । यस कार्यका लागि स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पर्याप्त बजेटको व्यवस्था नभएकोले गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा सोको व्यवस्थापन गर्ने कार्यको थालनी गरियो । यसै कार्यमा केन्द्र तथा क्षेत्रीय स्तरबाट विज्ञहरुको व्यवस्था मिलाई अभिलेख प्रतिवेदनका विषयमा आवश्यक तालिमका साथै स्थलगत प्रशिक्षण(Onsite coaching) को व्यवस्था गरिदै आएको छ । जिल्लाको सदरमुकामस्थित एकमात्र सरकारी अस्पतालको सुदृढीकरणमा नयाँ आयाम सहित कार्यको थालनी भएको अवस्था छ । अस्पताल फार्मेसिको सुदृढीकरण व्यवस्थित ल्याव, २४ घण्टे CEONC सेवाको प्रभावकारी कार्यन्वयन, OCMC सेवाको सुरुवात, भौतिक सुधार, वातावरणिय सरसफाई, सेवा प्रवाहको चुस्ताले गर्दा देशभरका जिल्ला अस्पतालहरुमध्ये नमुना अस्पतालको रुपमा विकसित हुँदै आएको छ । अस्पतालमा तत्काल डेण्टल सेवा सुचारु गर्नका लागि आवश्यक भौतिक पूर्वाधार तथा चिकित्सक सहितको स्वास्थ्यकर्मीको व्यवस्था गर्ने कार्य अगाडी बढीसकेको र कार्य प्रारम्भ भईरहेको अवस्था छ । अस्पताल विकास समितिको बैठक नियमित गरी पटक पटक Interdepartmental / Intradepartmental छलफल साथै गुणस्तर सुधारका लागि गृहकार्य भै रहेको छ । पछिल्लो अवस्थामा विस्तारित अस्पताल सेवा(Extended Hospital Service) को व्यवस्था गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्म आउने विरामीहरुका लागि पनि विशेषज्ञ चिकित्सकहरुले जाँच गर्ने कार्यको थालनी भएको छ । अस्पताल सेवालाई अझ गुणस्तरिय वनाउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विर अस्पतालसँगको समन्वयमा आवासीय चिकित्सकको व्यवस्था गरी विशेषज्ञ डाक्टरसहितको २४ सै घण्टा सेवाको सुनिश्चितताको थालनी भएको छ । अस्पतालको पूर्वाधार विकासमा हिमालय हेल्थ केयरको सहयोगमा नयाँ इएम् भवन साथै कर्मचारी आवास भवन निर्माणको शुरुवात भैसकेको छ । UNICEF, GIZ, Red Cross, One Heart World Wide,, हिमालयन हेल्थ केयर, रेन्वो चाइना होम जस्ता गैरसरकारी संस्थाहरुको सहकार्यमा जिल्लाका भुकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्थाहरुका अल्पकालिन प्रि–फेव्रिकोडे भवनहरुको निर्माणकार्य चरणवद्ध रुपमा सञ्चालन भै रहेको र केहि भवन निर्माण सम्पन्न भै सञ्चालनमा आएको छ ।

कर्मचारी अभाव (विशेषत ग्रामिण भेगमा) लाई कमी हुन नदिन तत्काल लोकसेवासँग माग गरि जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा सेवा प्रवाहमा कठिनाइ नहुनेगरी कर्मचारीको व्यवस्थामा सुधार गरिएको छ र “दरवन्दी अनुसारका कर्मचारी नभएको” भन्ने गुनासो अब यस जिल्लाको स्वास्थ्य क्षेत्रमा शुन्य प्रायको अवस्थामा पुगिसकेको छ । साथै दरवन्दी नपुगेका अवस्थामा करारमा समेत कर्मचारी लिएर सेवालाई सुचारु गराउने कार्यमा जिल्ला स्वास्थ्यले कुनै कसर बाँकी राखेको छैन ।

औषधी उपकरणको अभाव आउन नदिन जि.स्वा.का.लाई प्राप्त बजेटले ऐनको परिधिभित्र रहि छिटो भन्दा छिटो खरिद प्रक्रिया सम्पन्न गरि औषधी विहिन स्वास्थ्य संस्था भन्ने गुनासो तथा समाचारहरुलाई शुन्यको अवस्थामा पु¥याइएको छ । सम्भवत खरिद प्रकृयामा जि.स्वा.का. धादिङ नै यस आर्थिक वर्षको पहिलो जिल्ला हुनुपर्छ समयमै चुस्त दुरुस्त प्रकृयाबाट हरेक स्वास्थ्य संस्थामा औषधी तथा अन्य सामग्रीहरु पु¥याउन सफल भएको ।

म.स्वा.स्व.से.को कामलाई प्रभावकारी एवं समयानुकुल नविनता दिलाउने उद्देश्यले ] One Heart World Wide नामक गैरसरकारी संस्थासँग समन्वय गरी जिल्लाभरका ४६३ जना स्वास्थ्य स्वयं सेविकाहरुलाई मोबाइल स्वास्थ्य सम्बन्धि तालिम दिँदै मोबाइल फोन उपलब्ध गराएर आमा र बच्चाको स्वास्थ्यसँग सम्बन्धित विविध सूचनाहरु SMS को माध्यमबाट Online लिने व्यवस्थाको शुरुवात सम्पन्न गरिसकिएको छ । यो पनि हाम्रो स्वास्थ्यको सन्दर्भमा नविन प्रयोग हो ।

जिल्लाका सबै स्वास्थ्य संस्थाहरु ०७२ को विनासकारी भुकम्पले भएको व्यापक क्षतिका कारण भवन विहिन अवस्थालाई तत्काल सम्बोधन गर्न विभिन्न गैर सरकारी संस्थाहरुसँग समन्वय गरी शुरुवात गरिएको भवन निर्माण (अल्पकालिन÷दीर्घकालिन) कार्यलाई पटक पटक अनुगमन तथा समन्वय गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न निरन्तर पहल भैरहेको छ ।
सरकारी लक्ष्य अनुरुप जिल्लालाई पूर्ण खोप घोषणा गर्ने अभियान लगभग अन्तिम चरणमा पुगिसकेको छ ।

स्वास्थ्य शिक्षा कार्यक्रमको प्रभावकारिता कस्तो छ ?

स्वास्थ्य शिक्षा कार्यक्रमको प्रभावकारिताका सवालमा यो व्यवहार परिवर्तनको पाटो वा विशेषत भन्नुपर्दा स्वास्थ्यमा Software को क्षेत्र भएकोले तुरुन्त देख्न सकिने परिवर्तन पाउन सकिन्न तैपनि यस वर्षमा आवश्यकताका आधारमा विशेष पूर्व तयारी तथा योजनाका साथ प्रभावकारी ढंगबाट सञ्चालन गरिदै आएको छ । कार्यक्रम सम्पन्न गराई लक्ष्य अनुसारको प्रगति हाँसिल गराउने मात्रै भन्दा पनि त्यसका कारणले के कस्ता सुधार ल्याउन सकियो त भन्ने सवालमा बढी केन्द्रित भएका छौ । यसरी नै निरन्तर स्वास्थ्य शिक्षा सूचना प्रवाह गरि रहन सके निश्चयनै सकारात्मक परिवर्तन देखिने कुरामा हामी ढुक्क छौ ।

वर्षातको शुरुवातसँगै महामारी व्यवस्थापनको योजना :

अब छिट्टै शुरु हुन गइरहेको वा भैसकेको वर्षातको मौसमसँग हुन सक्ने महामारीका साथ अन्य प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै हरेक स्वास्थ्य संस्थामा अत्यावश्यकीय औषधीका साथ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मीहरुलाई वर्षातभर अति जरुरी कारणबाहेक अन्य अवस्थामा विदा नलिने र जरुरी अवस्थामा विदा लिनु परेमा सम्बन्धित निकायमा जानकारी तथा अनुमति लिएर साथै वैकल्पिक व्यवस्था गरेर मात्र कार्यालय छाड्नका लागि निर्देशन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका साथै प्रत्येक स्वास्थ्य संस्थामा Rapid Response Team (RRT) जुनसुकै बेला यसको व्यवस्थापनको लागि तयारी अवस्थामा रहेको छ । साथै यस अघिका यस्तै प्रकारका महामारीमा पनि हाम्रो संयन्त्रद्धारा द्रुतगतिमा काम गरि थुप्रै मानविय/स्वास्थ्यको क्षति हुनबाट बचाउन सफल भएको छ ।

धादिङको समग्र स्वास्थ्य सेवा विकासका लागि विभिन्न गैरसरकारी संस्थासँगको समन्वय र सहयोग कस्तो छ ?

गैरसरकारी संस्थासँगको समन्वय र सहयोगको पाटोमा जाने हो भने समग्रमा अवस्था सन्तोषजनक नै भन्नुपर्छ । यस जिल्लामा थुप्रै गैरसरकारी संस्थाहरुले काम गरेको देखिन्छ । तथापि विगतमा हेर्ने हो भने गैरसरकारी संस्थाको कार्य क्षेत्रका विषयमा केहि कमजोरी भएको देखिन्छ । उनीहरुको क्रियाकलाप जिल्लाको वा त्यस ठाउँको वास्तविक आवश्यकता भन्दा पनि संस्थाको आफ्नो चाहना को आधारमा कार्यक्षेत्र छनौट गर्ने प्रणाली रहेकोले सहज क्षेत्र जहाँ स्वास्थ्य कार्यक्रमको धेरै आवश्यकता छैन त्याँहा बढी संस्थाहरुले काम गरेको र विकट क्षेत्र जहाँ स्वास्थ्य सुधारका लागि कार्यक्रमको जरुरी छ त्यहाँ ज्यादै न्यून गैरसरकारी संस्थाले काम गरेका वा कतिपयमा शुन्य गैरसरकारी संस्थाको उपस्थिति रहेको पाइयो । यसको लागि गैरसरकारी संस्थाहरुको कार्यक्षेत्रमा दोहोरोपना घटाउन वा साविकको ५० वटै स्थानिय संरचनामा कार्यक्रम पु¥याउन गैरसरकारी संस्थाहरुलाई स्वास्थ्य सूचकाङ्कको आधारमा आवश्यकता अनुरुप कार्यक्षेत्र जि.स्वा.का. सँगको समन्वयमा निर्धारण गर्ने प्रणालीको विकास गरिएको छ । हाल जिल्लामा कार्यरत सबै गैरसरकारी संस्थाहरुसँगको समन्वय राम्रै हुँदाहुँदै पनि अझै उनीहरुसँगको समन्वयमा सुधार गरी आवश्यकताको आधारमा सहि ठाउँमा सहि कार्यक्रम प्रभावकारी ढंगबाट लैजानका लागि सुधार गर्नुपर्ने पक्षहरुको प्रशस्तै छन् सो कार्यका लागि हामी प्रयासरत छौ । आशा गरौ यसमा अझै सुधार आउने छ ।

बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको व्यवस्थापन स्वास्थ्यको पाटो कस्तो छ ?

बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको व्यवस्थापनको विषयमा भन्नुपर्दा जिल्ला स्वास्थ्य कार्यालय एक्लैले यसमा ठूलो योगदान पु¥याउन सक्दैन जसमा बहुक्षेत्रीय साझेदारीको आवश्यकता पर्दछ । यस्तो बेला व्यक्तिमा स्वास्थ्यको मात्र समस्या नभै शुरुमा त गाँस, वास र कपासको नै आवश्यकता पर्ने हुन्छ, केहि घाइतेहरुको वा बिरामीहरुको हकमा मात्र स्वास्थ्य उपचार पहिलो प्राथमिकतामा पर्दछ । यस्ता घाइतेहरुको उपचार वा व्यवस्थापनका विषयमा अगाडि नै महामारी अवस्थाको व्यवस्थापनकै जसरी व्यवस्था गर्ने संयन्त्र हामी कहाँ रहेको छ भने अन्य स्वास्थ्य बाहेकका प्रकोप व्यवस्थापनमा पनि जिल्लामा रहेको सबै निकायहरुसँको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले पनि आफ्नो तर्फबाट स्वास्थ्य सुधारका लाग गर्नुपर्ने उत्तरदायित्व प्रभावकारी ढंगबाट निर्वाह गरिरहेो छ र आगामी दिनमा पनि गरिनेछ ।

जाँदा जाँदै केहि भन्नु छ ?

स्थानिय निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते धादिङ जिल्लामा स्थानिय तहको निर्वाचन भैसकेपछि नगरपालिका र गाउँपालिकामा निर्वाचित पदाधिकारीहरु आइसकेको सन्दर्भमा जनस्वास्थ्य क्षेत्रको संरचनामा परिवर्तन हुन आभास भएको छ । जसअनुसार स्थानिय तहका स्वास्थ्यकर्मीहरु समेत स्थानिय निकायको मातहतमा रहने बुझिएको छ । यसै सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालयको अस्तित्व यसै अवस्थामा रहने सम्भावना कमी रहेको छ । यसो हो भने हाल विद्यमान रहेको जिल्ला स्वास्थ्य कार्यालयको उपस्थितिको हैसियत र यसको काम दरवन्दी कसरी अगाडी बढ्छ भन्ने विषय अहिले चर्चाको विषय भएको छ । यसमा स्थानिय निकाय अन्तर्गत रहने स्वास्थ्य संस्था (स्वास्थ्य चौकी) हरुको प्राविधिक सहयोग, सुपरिवेक्षण, पुष्ठपोषण, स्थलगत प्रशिक्षण, औषधी, उपकरण भण्डार र सोको खरिद व्यवस्थापन र स्वास्थ्य प्रशासनको जटिलतम् कार्यलाई कसरी अझ प्रभावकारी नलाउने भन्ने विषय आगामी दिनको चुनौती रहने छ जसमा जिल्ला व्यवस्थापन एवं स्वास्थ्य सुपरभाइजर अधिकृतले सहजीकरणको भूमिका खेल्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्