Logo

असार २५ गते नै मन्त्रिपमण्डल विस्तार हुन्छ : दिपक खड्का



काठमाडौं, २० असार । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् निर्वतमान मन्त्री दिपक खड्काले यही असार २५ गतेभित्रै मन्त्रिमण्डल विस्तार हुने दाबी गरेका छन् । खड्काले भने,‘चुनावका कारण केही ढिलाई भएको हो, अब २५ गतेभित्रै मन्त्रिपरिषद विस्तार हुन्छ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खड्काले तेस्रो चरणको स्थानीय तहको निवार्चन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको समेत जानकारी दिए । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ भनेर हाम्रो पार्टी निरन्तर रुपमा लागिपरिरहेको छ, हाम्रा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि यसबारेमा गम्भिर रुपमा पहलकदमी लिईरहनुभएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले केही दिनभित्रै राजपा नेपालले अघि सारेका राजनीतिक माँगहरु जस्तो आन्दोलनका क्रममा लागेका मुद्दाहरु फिर्ता लिने, राजबन्दी रिहाई गर्ने, सहिद घोषणा गर्ने लगायतका माँगहरु समेत पूरा गर्ने तयारीमा सरकार जुटेको जनाए ।

उनले वर्तमान कांग्रेस–माओवादी केन्द्रको गठबन्धनले नै तीन वटै निकायको चुनाव सम्पन्न गर्न सक्ने विश्वास दिलाए। खड्काले भने,‘यही गठबन्धनले बाँकी सबै निर्वाचन समयमै सम्पन्न गर्छ, यसमा कुनै दुई मत छैन।’

यद्धपी उनले वर्तमान सरकार चुनाव नगर्नको लागि गठन भएको भन्नेहरुलाई हालै दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गरेर अहिलेका प्रधानमन्त्री देउवाले गतिलो जवाफ दिएको स्पष्ट पारे ।

उनले राजपाको माँग सम्बोधन गर्नको लागि संविधान संशोधनको लागि वर्तमान सत्तारुढ गठबन्धनले पटक पटक प्रयास र पहल गरेको समेत जनाए । उनले भने,‘मधेशी मोर्चाले संविधान संशोधनको लागि माँग राखेर आन्दोलन गरेदेखि नै हामी गम्भिर बनेका थियौं, उहाँहरुका माँग सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो सुरुदेखिको नै प्रयत्न हो।’

उनले संशोधन प्रस्ताव पारित गराउन एमालेबिना पनि दुई तिहाई पुग्ने भएपनि दोस्रो ठूलो दल नेकपा एमालेलाई पनि साथमै लिएर अघि बढ्ने वर्तमान सरकारको चाहना रहेको बताए । उनले थपे,‘संशोधन गरेर सबैलाई सँगसँगै लिएर जाने हाम्रो चाहना हो।’

तीनवटै निकायको निर्वाचन सफल रुपमा सम्पन्न भएपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र मुलुक आर्थिक क्रान्तिको बाटोमा अघि बढ्ने समेत उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्