Logo

यस्तो बनाउँदैछन देउवाले सल्लाहकार टिम !



काठमाडौं, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत यही साताभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन। देउवाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई समावेश गरी मन्त्रिपरिषद्को तयारी गरेका हुन् ।

लामो समय सम्म मन्त्रीपरिषद् बिस्तार नहुदा उनलाई अनिर्णयको बन्दी भएको आरोप लागेको थियो । तर, कांग्रेस सांसद एवम् देउवा निकट नेता दिपक खड्काले देउवाले यही असार २५ गतेभित्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको जानकारी दिएका छन्।

मन्त्रिपरिषद विस्तार गर्नुपुर्व उनले आफ्नो सल्लाहकार टिम बनाउने तयारी गरेको स्रोतले जनायो । देउवा बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेको पनि यसअघि श्रोतले दाबी गरेको थियो । तर देउवाले आज र भोलिभित्रै आफ्नो सल्लाहकार टिम बनाउने अन्तिम तयारी गरेको उनी निकट उच्च स्रोतले जनायो ।

स्रोतका अनुसार सल्लाहकार टिममध्ये प्रमुख स्वकिय सचिवमा भानु देउवा, सचिवमा केशव जोशी रहनेछन् । संसदीय दलको नेताको प्रमुख स्वकिय सचिवमा रहेर जोशीले काम गरिरहेका छन् । जोशी देउवाका अत्यन्तै विश्वासिला पात्र हुन् ।

प्रेस सल्लाहकार कसलाई बनाउने भन्नेमा अझै देउवा अनिर्णित छन् । प्रेस सल्लाहकार बन्ने दौडमा सुरेश आचार्य, बद्रि सिग्देल र गोविन्द परियार अग्रपँक्तिमा देखिएका छन् । आजमात्रै प्रेस युनियनका केही प्रतिनिधिहरु क्रमशः बसन्तप्रकाश उपाध्याय, समिरजंग शाह, शालिक सुवेदी, भीष्म काफ्ले, गोविन्द धिताल लगायतले प्रधानमन्त्रीलाई भेटेर बद्रि सिग्देललाई नै प्रेस सल्लाहकार बनाउनुपर्ने दबाब दिएका थिए ।

त्यस्तै राजनीतिक सल्लाहकारमा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र महेन्द्र यादवको नाम चर्चामा छ । त्यस्तै परराष्ट्र मामिला सल्लाहकारमा डा. केदारभक्त माथेमा, मधुरमण आचार्यको नाम चर्चामा छ । त्यस्तै प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकारमा कृष्ण ज्ञवालीको नाम चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्