Logo

प्राकृतिक विपत्तिको संकेत देखिएपछि उपत्यकाका ८३ खुला ठाउँ तयारी अवस्थामा : दिपक काफ्ले, प्रवक्ता, गृह मन्त्रालय



गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले वर्षाका कारण विभिन्न हुन सक्ने प्राकृतिक विपद्बारे मन्त्रालय सजग रहेको बताएका छन् । उनले काठमाडौं उपत्यकामामात्रै अहिले ८३ खुल्ला ठाउँ तयारी अवस्थामा राखिएको जानकारी दिए । काफ्लेसँग यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

यसपटकको वर्षायाममा आएको बाढी पहिरोेले के कस्तो क्षति पु¥याएको छ ?

नेपालको भौगोलिक बनावटका कारण वर्षादको समयमा जनधनको क्षति हुने गरेको छ । विशेषगरी तराईमा डुबान र पहाडमा पहिरो मुख्य समस्या हुने गरेको छ । गत १७ र १८ गतेको वर्षाले पर्वतमा ३ जनाको ज्यान गएको छ । तेह्रथुममा पनि ३ जना नागरिकले ज्यान गुमाएका छन् भने कास्कीमा २ जनाको मृत्यु भएको छ । प्युठानमा पनि क्षति पुगेको छ । तराईको सप्तरीमा डुबानले जनता विस्थापित हुने अवस्था आएको छ । मोरङ, चितवन, मुगु लगायतका जिल्लाहरुमा पनि वर्षाले जनजीवन प्रभावित भएको छ ।

तराई क्षेत्रको डुबानले हरेक वर्ष जनता पीडित हुने गरेका छन् । सरकारले समस्या समाधान खोज्दैन ?

तराईका जिल्लाहरुको भौगोलिक अवस्था प्रतिकूल छ । समथर भूभागका कारण वर्षा हुनासाथ पानीको निकास हुन नसक्दा बस्ती प्रभावित हुने गरेको छ । जसका कारण हरेक वर्ष समस्या देखिएको छ । यद्यपी यस वर्ष अहिलेसम्म मानवीय क्षति भएको छैन । त्यस क्षेत्रका स्थानीय प्रशासनले समस्या समाधानका लागि पहल गरिरहेको छ । क्षति न्युनिकरणका लागि प्रशासन सक्रिय छ । गृह मन्त्रीसहित गृह सचिव लगायत जिम्मेवार व्यक्तिले स्थानीय प्रशासनलाई सचेत गराइरहनुभएको छ ।

पीडित जनताले वास्तवमा नै राहत पाएका छन् त ?

सरकारले आफ्नो क्षमताले भ्याएसम्म जतिसक्दो चाँडो राहतको व्यवस्था गरेका छौँ । घाइतेहरुको निःशुल्क उपचारदेखि अन्य व्यवस्था सरकारले गरिरहेको छ । मृत्यु भएकाको परिवारलाई सरकारले दिने राहत तुरुन्तै दिने व्यवस्था मिलाएका छौँ । प्रभावित सबै जिल्लामा आवश्यक साधन र स्रोत परिचालन गरिएको छ ।

बाढी पहिरोको समस्या समाधानका लागि गृह मन्त्रालयले दिर्घकालिन योजना के बनाएको छ ?

गृह मन्त्रालयले नीति तथा कार्यक्रमहरुमार्फत प्राकृतिक विपत्ति व्यवस्थापनका कामहरु भइरहेका छन् । जोखिम व्यवस्थापनको राष्ट्रिय रणनीति कार्यान्वयनमा छ । आपतकालिन कार्य संचालन ५४ जिल्लामा संचालन गरिएको छ । गृहमन्त्रालयमा पनि उक्त कार्यक्रम संचालन गरिएको छ । यो कार्यक्रम २४ सै घण्टा संचालनमा छ । हरेक घटनाको तुरुन्तै जवाफ दिनका लागि हामी तयारी अवस्थामा छौँ । सुरक्षा निकायका विभिन्न एकाईहरु विपद व्यवस्थापनका लागि खटिएका छन् । काठमाण्डौ उपत्यकामा विपद आइप¥यो भने उद्दारस्थलका रुपमा ८३ वटा खुला ठाउँ तयारी अवस्थामा छ । त्यस्तै प्रत्येक जिल्लामा सार्वजनिक खुला स्थानलाई विपदका बेला प्रयोग गर्ने रणनीति लिएका छौँ ।

अहिले नारायणगढ–मुग्लिन सडकखण्ड अस्तव्यस्त छ । अन्त पनि सडकको समस्या ठुलो छ । यसलाई सरकारले कहिले व्यवस्थित बनाउँछ ?

केन्द्रिय दैवी प्रकोप उद्दार समिति गृहमन्त्रीको नेतृत्वमा छ । समितिले अन्तरनिकाय समन्वय गरेर सबैखाले प्रकोपबाट हुने समस्या समाधान गर्ने प्रयार गरिरहेको छ । तर सडकको समस्या भनेको दैविक विपत्तिसँग मात्र जोडिएको हुँदैन । विकासका पूर्वाधारको रुपमा सडक पर्ने भएकाले यसको व्यवस्थापन गर्ने निकाय अरु नै छन् ।

तर नागरिकहरु यात्राको क्रममा दिनभरसम्म सडकमै फसिरहेको छ । यसप्रति सरकार जिम्मेवार बन्नुपर्दैन ?

हामीले जिम्मेवारी भुलेका छैनौँ । हो, नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोको कारण प्रभावित भएको छ । हामीले बाटो खुलाउनका लागि धेरै प्रयास गरिरहेका छौँ । तर पहिरोको निरन्तरताले समस्या समाधान गर्न कठिन भइरहेको छ । हामीले त्यस सडकखण्डमा हुन सक्ने अवरोध हटाउनका लागि जनशक्ति र साधन स्रोत तयारी अवस्थामा राखेका छौँ । तर हाम्रो स्रोत साधनले नै समाधान गर्न नसक्ने गरी पहिरो गइरहेको छ । गृह मन्त्रालयले सडक अवरुद्ध भएको एक घण्टाभित्र बाटो खुलाउने रणनीति लिएको छ । तर हाम्रो क्षमताले धान्नै नसक्ने गरी पहिरो गएकाले समयमा काम गर्न नसकेको जस्तो देखिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्