Logo

गृहमन्त्री—श्रीलङ्काली राजदूतबीच छलफल



काठमाडौँ, २५ असार । गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि श्रीलङ्काका राजदूत डब्लुएस पेरेराले भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल र श्रीलङ्काबीचको द्विपक्षीय हितका बारेमा छलफल भएको उहाँको निजी सचिवालयले जनाएको छ । यही असार २७ देखि २९ गतेसम्म श्रीलङ्कामा हुने १८ औँ सार्कस्तरीय गृहमन्त्रीको बैठकमा सहभागी हुन गृहमन्त्री शर्मा त्यसतर्फ जाँदै हुनुहुन्छ ।

भेटका क्रममा मन्त्री शर्माले नेपाल शान्ति प्रक्रियाको नयाँ चरणमा रहेको उल्लेख गर्दै नेपालका अन्य समस्यासमेत राजनीतिक रुपमा हल हुनेमा राजदूत पेरेरालाई विश्वास दिलाउनुभयो ।

सो अवसरमा राजदूत पेरेराले शिक्षा क्षेत्रमा श्रीलङ्काले नेपालका विद्यार्थीलाई र नेपालले श्रीलङ्काका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको स्मरण गर्नुभयो ।

राजदूत पेरेराले नेपाल र श्रीलङ्काबीचको व्यापारिक सम्बन्धका साथै पर्यटन प्रवद्र्धनका लागि श्रीलङ्का र नेपालबीच सिधा हवाई सम्पर्कको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्