Logo

नुवाकोटका द्वन्द्वपीडितका लागि रु १७ करोड



नुवाकोट, २६ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द्वपीडितलाई राहत (आर्थिक सहायता) स्वरुप करिब रु १७ करोड बजेट निकासा गरेको छ ।

तत्कालीन नेकपा माओवादी र राज्यबीच भएको सशस्त्र युद्धको समयमा द्वन्द्वको चपेटामा परी पीडित भएकालाई राहत तथा क्षतिपूर्तिस्वरुप आर्थिक सहायता उपलब्ध गराउन मन्त्रालयबाट रु १६ करोड ९६ लाख ५९ हजार बजेट आएको स्थानीय शान्ति समिति नुवाकोटका संयोजक बिन्दा अर्यालले जानकारी दिनुभयो ।

द्वन्द्वको समयमा पीडित भएका विभिन्न सात वर्ग शीषर्कमा प्रभावितलाई थप सहायता तथा नयाँ पहिचान भएका पीडितलाई उपलब्ध गराउन प्राप्त भएको आर्थिक सहायतालाई चालु आव भित्र वितरण गर्न अख्तियारी दिइएको छ । प्राप्त रकम चालु आवभित्रै वितरण गर्नुपर्ने निर्देशन आएपछि पाँच दिनभित्र पीडितको हातमा पु¥याउन कठिन बनेको छ ।

प्राप्त बजेटमा द्वन्द्वको समयमा आमाबाबु गुमाएका टुहुरा बालबालिकाका लागि रु १८ लाख, ५१ प्रतिशतदेखि माथिका अङ्गभङ्ग भई अपाङ्गता भएकाका लागि जीवन निर्वाह भत्तास्वरुप रु पाँच लाख ९५ हजार, अपहरणमा परेकालाई आर्थिक सहायता रु ७० लाख २५ हजार, मृत्युवरण तथा बेपत्ता पारिएका व्यक्तिका हकदारलाई थप आर्थिक सहायता उपलब्ध गराई एकमुष्ट रु पाँच लाख उपलब्ध गराउन रु ४० लाख १९ हजारको अख्तियारी आएको छ ।

यस्तै विस्थापित भएका व्यक्ति एवम् परिवारलाई अधिकतम रु २५ हजारका दरले वितरण गर्न रु चार करोड, ४९ लाख ५० हजार र यसअघि रु पाँच लाख अथवा त्योभन्दा बढी रकम प्राप्त गरिसकेका मृतक र बेपत्ता भएका व्यक्तिका हकदारका लागि थप रकम दिएर रु १० लाख पु¥याउन रु ११ करोड १२ लाख ५० हजार आएको स्थानीय शान्ति समिति, नुवाकोटका संयोजक अर्यालले जानकारी दिनुभयो ।

सशस्त्र द्वन्द्वको समयमा नुवाकोटमा २२७ ले ज्यान गुमाएका, २२ जना बेपत्ता, ६९ जना अङ्गभङ्ग भएको तथ्याङ्क छ । द्वन्द्वको समयमा विस्थापित, अपहरणमा परेका, र सम्पत्ति क्षति व्यहोरेकाको सङ्ख्या भने यकिन हुन बाँकी छ । रासस

 



प्रतिक्रिया दिनुहोस्