Logo

स्वास्थ्य क्षेत्रमा भनसुन नगरौं : निवर्तमान स्वास्थ्यमन्त्री थापा



काठमाडौँ, २६ असार । निवर्तमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अनुमति पाउने परीक्षामा भनसुन चल्न नहुने बताउनु भएको छ ।

भनसुनका आधारमा अदक्षलाई पास गराएर जनताको स्वास्थ्य माथि खेलबाड गर्न छुट दिन नहुने उहाँले बताउनुभयो । हालै भएको विशेषज्ञ चिकित्सकको नाम दर्ताको परिक्षामा फेल भएका ७० प्रतिशत चिकित्सकहरु मध्ये केहीले पास गराईदिन भन्दै आफुसँग भनसनु गरेपछि उहाँले भनसुनका आधारमा पास गराउन नहुने बताउनुभएको हो ।

पाल्पाको मुना मेमोरियल ट्रष्टद्धारा वीर अस्पतालमा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले पुराना र अनुभवी चिकित्सकहरु रहेको बीर अस्पताललाई श्रोतसाधन सम्पन्न गराउन आफ्नो कार्यकालमा अस्पतालले मागेजती रकमको व्यवस्था गरिदिएको स्मरण गर्नुभयो ।

बीर अस्पताललाई जनशक्ति र श्रोतसाधनले सुविधा सम्पन्न गराउन सरकारको सहयोगले मात्रै नभई मुना मेमोरियल टष्ट जस्ता परोपकारी संस्थाहरुसँगको सहकार्य पनि आवश्यक रहेको बताउनु भयो । अस्पतालले विश्वास कायम गर्न सकेमा मात्रै सहयोगीहरु आकर्षीत हुनसक्ने तर्फ अस्पताल व्यवस्थापनको उहाँले ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. गणेश बहादुर गुरुङ र अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले निवर्तमान मन्त्री थापाको कार्यकालमा मागेजती बजेट पाएकाले विर अस्पतालमा धेरै सुधार भएको बताउनु भयो । कतिपय कामहरु सम्पन्न हुन बाँकी भएकाले केहीसमयपछि मात्रै जनताले त्यसको अनुभुती गर्न पाउने दावी गर्नुभयो ।

कार्यक्रममा पत्रकार ऋषी धमलाले ट्रष्टले अनुकरणीय तथा पुण्य कार्य गरेको र निवर्तमान मन्त्री थापाले आफ्नो कार्यकालमा जनताको मन थप जितेको भन्दै प्रशंसा गर्नुभयो ।

पाल्पाको रामपुर नगरपालिका वडा नं. १० मा जन्मीनु भएकी मुना अधिकारी पौडेलले बीर अस्पतालमा लामो समय स्वास्थ्यकर्मीको रुपमा सेवा गर्नुभएको थियो । क्यान्सरका कारण उहाँको निधन भएपछि २०६८ सालमा उहाँकै नाममा स्थापना भएको ट्रष्टले उहाँकै चाहना अनुसार स्वास्थ्य क्षेत्रमा परोपकारी काम गर्दै आईरहेको छ ।

ट्रष्टले उहाँको जन्मस्थान पाल्पा रामपुरमा झण्डै १५ लाखको लागतमा मुन स्मृति सामुदायीक भवन बनाइएको र त्यसमा अहिले नगरपालिकाको सहरी स्वास्थ्य क्लिनीक संचालन भईरहेको ट्रष्टका अध्यक्ष अमृत अधिकारीले जानकारी दिनुभयो ।

भवनको व्यवस्थापनको जिम्मा स्थानीय सृजना आमा समुहलाई दिइएको र उहाँले अध्ययन गरेको स्थानीय जनकल्याण उच्चमाविबाट प्रवेशिका परिक्षामा सर्वाधिक अंक ल्याउने छात्रालाई नगद पुरस्कार र एक जना उत्कृष्ट छात्रालाई सिएमए पढ्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

ट्रष्टले आज अष्ट्रिया नेपाली समाजको सहयोगमा बीर अस्पतालका सवै शैैयालाई एक एक ओटा पुग्नेगरी तीन सय ७० थान विरामीले लगाउने पोशाक दिएको हो ।



प्रतिक्रिया दिनुहोस्