Logo

भानुले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड



दमौली, २९ असार । आदिकवि भानुभक्त आचार्यले देखाएको बाटालाई अवलम्बन गर्नुपर्नेमा यहाँ जोड दिइएको छ । दुई सय चौथो भानुजयन्तीका अवसरमा भानु घाँसी स्मारक पार्क संरक्षण समितिद्वारा आज घाँसीकुवामा आयोजित प्रवचन कार्यक्रमका वक्ताले अहिलेको अवस्थामा भानुले देखाएको बाटो अवलम्वन गर्न सके मुलुक नै माथि उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भानुको बाटो अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष तीर्थराज भट्टराई, पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, नेकपा एमालेका नेता एकबहादुर राना, पूर्वसभासद् उर्मिला थापा, व्यासका अध्येता काशीनाथ न्यौपानेलगायतले भानुभक्तको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

इटहरी– यसै अवसरमा आज इटहरी साहित्यक समूहले प्रतिनिधिमूलक छन्दोबद्ध कविता गोष्ठीसँगै साहित्यिक स्रष्टा सम्मान कार्यक्रम गरेको छ ।समारोहमा छन्दोबद्ध कवितामा लामो समयदेखि क्रियाशील रोहिणी पराई घिमिरेलाई रु १० हजार एक राशिसहित सम्मान गरिएको छ ।

सो अवसरमा प्रा डा वद्रीविशाल पोखरेलले भानुले संस्कृत भाषामा लिखित ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरेर नेपालीलाई ‘रामायण’ पठनमा सहजता प्रदान गर्नुभएकाले उहाँप्रति हामी नेपालीले जहिल्यै सम्मानभाव प्रकट गर्नुपरेको हो भन्नुभयो । उहाँले अहिले नेपाली भाषामाथि चौतर्फी आक्रमण भइरहेकाले त्यसतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

इटहरी उपमहानगरपालिकाकाप्रमुख द्वारिकालाल चौधरीले सभ्य समाज वा शहर बन्नका लागि साहित्यको आवश्यकता छ भन्नुभयो । कार्यक्रममा समूहका अध्यक्ष कृष्णविनोद लम्साल, प्रा मोहत तुम्बापो, बालकृष्ण सिग्देल, पुण्यप्रसाद न्यौपाने, जीवनाथ नेपाल, कृष्णप्रसाद नेपाल, चन्द्रावती पौडेललगायतले कविता, गजल र हास्यव्यङ्ग्यात्मक प्रस्तुति दिनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्